फाइल तस्बिर
काठमाडौँ- नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली पिउसो तानाशाह भएको बताएका छन्। पार्टीको जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा आयोजित अखिल नेपाल महिला संघ, बागमती प्रदेशका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै खनालले ओलीजस्तो पिउसो तानाशाहलाई आफूहरूले ठेगान लगाएरै छोड्ने दाबी गरे।
‘हामीले २३८ वर्ष लामो तानाशाहीलाई सडकबाटै ठेगान लगायौँ,' खनालले भने, ‘केपी ओलीजस्तो पिउसो तानाशाहलाई ठेगान लगाउन धेरै समय पर्खिनु पर्दैन।’
संसद् पुनर्स्थापना गर्नुको विकल्प नभएको बताउँदै खनालले पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राखिने बताए। ‘कम्युनिस्ट वैचारिक र सैद्धान्तिक रुपमा स्खलित भएपछि यस्तो समेत हुँदोरहेछ। हिजो केशरजंग रायमाझी पनि देखेकै हो। ओलीलाई पनि देखेकै छौँ,’ खनालले भने, ‘उनले संसद् विघटन गरेपछि यथास्थितिलाई सहयोग पुगेको छ। त्यो निर्णयबाट कम्युनिस्ट आन्दोलन नै लज्जित भएको छ।’
केपी ओली सरकारले संसद् विघटनले संविधानलाई नै प्वाल पार्ने काम भएको खनालले बताए। 'सुखी नेपाली, समृद्ध नेपाली'को नारा आफूले ल्याएको बताउँदै खनालले ओलीको दिमागमा यस्ता सिर्जना हुन नसक्ने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।