काठमाडौं- नेपाल टेलिकमले फोरजी एलटीई प्रविधिमा आधारित एचडी भ्वाइस कल सेवाको परीक्षण सुरु गरेको छ। टेलिकमले देशभर विस्तार गरिरहेको फोरजी एलटीई परियोजना अन्तर्गत एचडी भ्वाइस सेवाको परीक्षण सुरु गरेको हो।
यो व्यवस्था लागू भएपछि टेलिकमको फोजीमा हरेक समय मोबाइल डिभाइस इन्टरनेटमा कनेक्ट भइरहनेछ। हाल टेलिकमको फोरजी सेवामा इन्टरनेटको डेटामात्रै चल्ने गरेको छ। भ्वाइस कल गर्दा थ्रीजीमै हुने गरेको छ। अब भने भिओएलटिईमा भ्वाइस कलसमेत फोरजीमै चल्ने टेलिकमले जनाएको छ।
भिओएलटिईमा हालको थ्रीजीको तुलनामा प्राकृतिक आवाजमै कुराकानी गर्न सकिने टेलिकमले जनाएको छ। भिओएलटिईमा निकै सस्तो मूल्यमा सेवा उपभोग गर्न सकिने उल्लेख गरिएको छ। कम्पनीले यसका लागि बिलिङ सिस्टम समेत तयार पारिसकेको टेलिकमले जनाएको छ।
यस्तो सेवा सञ्चालनका लागि टेलिकम र मोबाइल निर्माता कम्पनीको सेट निर्माता दुवैतर्फबाट इनेबल गर्नुपर्ने हुन्छ। कम्पनीका अनुसार साओमीका पछिल्ला मोडेलहरुमा यो सेवा चल्ने गरी काम भइरहेको छ। सामसुङले समेत एउटा मोडेलमा भोल्टे सेवा चल्न सक्नेगरी आवश्यक काम भइरहेको उल्लेख छ।
अन्य स्मार्टफोन निर्माता कम्पनीका सेटमा समेत भोल्टे इनेबल गराउन कम्पनीले बुधबार सूचना समेत जारी गरेको छ। कम्पनीले फोरजी मोबाइल सेटहरुमा ब्याण्ड थ्री, ब्याण्ड २० तथा भीओएलटीई परीक्षण गर्ने भन्दै आपूर्तिकर्ता तथा बिक्रेताहरुलाई सम्पर्कमा आउन आग्रह गरेको हो।
टेलिकमले हाल फोरजी सेवा सञ्चालनमा रहेका साइटहरुमा समानान्तर रुपमा भीओएलटीई सेवाको परीक्षण गरिरहेको छ। टेलिकमले फोरजी ब्याण्ड ३ (१८०० मेगाहर्ज), ब्याण्ड २० (८०० मेगाहर्ज) र भीओएलटिईसम्बन्धी प्राविधिक परीक्षणका लागि आपूर्तिकर्ता तथा बिक्रेतालाई कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो।
परीक्षण पश्चात फोरजी एलटिई तथा भ्वाइस ओभर एलटीई सेवा सपोर्ट गर्ने मोबाइल सेटको मोडल टेलिकमको वेबसाइटमा राखिने उल्लेख छ। विभिन्न चरणको टेस्ट गर्नुपर्ने भएकाले व्यवसायिक रुपमा भोल्टे सेवा सञ्चालनमा आउन भने अझै केही समय लाग्ने कम्पनीले जनाएको छ।
मुख्य स्मार्टफोन निर्माता कम्पनीहरुको सिस्टममा टेलिकमको भोल्टे इनेबल भएको खण्डमा सम्भवत आगामी माघ २२ गतेदेखि कम्पनीले यो सेवा व्यवसायिक रुपमा नै सुरु गर्ने बताइएको छ। त्यसपछि भोल्टे इनेबल मोबाइल सेटमा प्रयोगकर्ताले अहिले फोरजी एक्टिभ गरेजस्तै यूएसएसडी कोड डायल गरी सेवा सुचारु गराउन सकिनेछ।
भोल्टेज इनेबल रहेका साओमीका पछिल्ला मोडेल र सामसङको एउटा मोडेलमा अहिले टेलिकमले म्यानुअल रुपमा यो सेवा परीक्षणका लागि खुल्ला गरिरहेको छ। भोल्टे टेलिकमको सिस्टमबाट समेत भोल्टे इनेबल हुँदा प्रयोगकर्ताले स्पष्ट आवाजमा कुरा गर्न सक्छन्। भोल्टेज इनेबल भएका मोबाइलबीच आइभिआर र ल्याण्डलाइन नम्बरमा कल गर्दा प्रयोगकर्ताले उच्च गुणस्तरको आवाज अनुभव गर्न सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।