काठमाडौं–अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सडक विस्तार गर्ने क्रममा उचित रुपमा पानीको व्यवस्थापन नगर्दा बस्ती डुबानमा पर्नेप्रति कीर्तिपुर नगरपालिका २ का बासिन्दाले चिन्ता व्यक्त गरेका छन्।
निर्माणको जिम्मेवारी समानान्तर ठेकेदार कम्पनीले प्राप्त गरेको थियो। कीर्तिपुर र चन्द्रागिरि नगरपालिकामा पर्ने बल्खु खोलाको दुवैतिर ५२ करोड खर्चेर सडक चौडा गरिँदैछ। १० मिटर फराकिलो सडक बनाउने गरि ठेकेदार कम्पनीले कार्य गरिरहेको छ। सडक निर्माण गर्ने क्रममा कीर्तिपुर २ मैत्रीनगरमा ४ फिट भन्दा अग्लो पर्खाल बनाइएको छ।
वर्षाकाे समयमा कीर्तिपुर डाँडा र कीर्तिपुर अस्पताल क्षेत्रको सबै पानी सोही क्षेत्रमा जम्मा हुँदा डुबानमा पर्ने चिन्ता स्थानीयले गरेका छन्। स्थानीय ऋषी खनालले भने,‘निर्माणाधीन सडक परियोजनाले पानी तर्काउने प्रणालीको व्यवस्थापन नगरेकोले झन्डै १०० घरहरु बर्षाको समयमा डुबानमा पर्छन्।’
कीर्तिपुर र चन्द्रागिरि नगरपालिका साथै सरकारी कार्यालयले सडक निर्माण क्षेत्रमा घर टहरा नहटाएका कारण लागत बढ्न सक्ने बताइएको छ। खनालले भने,‘सरकार ठेक्का लगाउँछ, न त्यहाँका जनतालाई सुविधा दिन्छ। न समयमा तोकिएको खर्चमा परियोजना सम्पन्न गर्छ।’
सडक निर्माणका लागि हटाउनु पर्ने घरमा समेत तला थप्ने कार्य रोकिएको छैन। गणतन्त्रअघिको नक्सा पासको मापदण्ड अनुसार नै घर निर्माण भइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।