काठमाडौं- भन्सार विभागले आफ्नो मातहतमा रहनेगरी एक मेकानिकल इन्जिनीयरको दरबन्दी सिर्जना गरेको छ। सवारी आयातकर्ताहरुले सवारीको वास्तविक स्पेसिफिकेसनभन्दा फरक कागजात पेस हुन थालेपछि विभागमै रहनेगरी एक जना मेकानिकल इन्जिनियर राख्न लागेको हो।
विभागले एक जना मेकानिकल इन्जिनियरको दरबन्दी सिर्जना गरेको महानिर्देशक सुमन दाहालले बताए। ‘यसअघि विभागअन्तर्गत मेकानिकल इन्जिनियरको दरबन्दी थिएन,’ उनले भने‚ ‘वार्षिक लाखौं सवारीसाधन आयात हुन्छन्। कतिपय आयातकर्ताले वर्षौसम्म भन्सार जाँचपास गराउँदैनन्। त्यसको मूल्यांकनलगायतका लागि मेकानिकल इन्जिनियर आवश्यक देखिएको हो।’ हालसम्म भन्सारले मेकानिकल इन्जिनियर आवश्यक परे अन्य निकायसँग समन्वय गर्दै आएको थियो।
अर्को निकायसँग समन्वय गर्दा काममा ढिलाइ हुँदै आएको विभागको भनाइ छ। पछिल्लो समय सवारी आयातकर्ताहरुले सवारीको वास्तविक क्षमताभन्दा भिन्न कागजात बनाई भन्सारमा पेस गर्ने गरेकाले पनि विभागले त्यस्ता कागजातको तत्काल जाँच गर्न मेकानिकल इन्जिनियर चाहिएको जनाएको छ।
कार तथा अन्य सवारीको वास्तविक क्षमताभन्दा कमको कागजात पेस गर्दा राज्यलाई आउने कर कम हुने तर उपभोक्ताले भने पुरै कर तिरेसरह मूल्यमा किन्नु पर्ने अवस्था छ। व्यवसायीले अन्डर इन्भ्वाइस गरि गतल कागजात पेस गर्दा मुद्रा अपचलन हुने र सेकेन्ड ह्यान्ड गाडी आयातको सम्भावनासमेत धेरै हुन्छ।
अरेटी इन्टरनेशनलले गएको नोभेम्बर ६ मा हङकङको साउथ चाइना एक्जिम कम्पनीबाट ३ वटा टेस्ला मोडल९थ्री गाडी नेपाल भित्र्याएको थियो।
चीनमा ४९ हजार डलरमा बिक्री भइरहेको टेस्ला मोडल थ्री अरेटीले नेपाल ल्याउँदा ३५ हजार डलरमा खरिद गरेको विवरण भन्सारमा पेस गरेको थियो।
त्यतिमात्र होइन, अरेटी इन्टरनेसनलले यसमा प्रयोग भएको मोटर क्षमता पनि ढाँटेको थियो। गाडीको मोटर क्षमता ढाँटेपछि कम्पनीले १५ प्रतिशत मात्रै अन्तःशुल्क तिरेर तीन वटा कार भन्सार जाँचपास गराएको थियो।
‘अल ह्विल ड्राइभ सिस्टम’ जडान भएको टेस्ला मोडल थ्रीमा कम्पनीले १४७ किलोवाट क्षमताको मोटर जडान भएको भन्दै १५ प्रतिशतमात्रै अन्तःशुल्क तिरेको छ। जबकी टेस्लाको मोडल थ्रीको पछाडि चक्कामा पावर दिन २११ किलोवाटको अर्को मोटरसमेत जडान गरिएको छ। अगाडि र पछाडि गरेर यसमा ३५८ किलोवाट क्षमताको मोटर प्रयोग भएको छ।
तर आयातकर्ता अरेटीले झुटो विवरण पेस गरेर टेस्लाका ३ वटा विद्युतीय कार भित्र्याएको थियो। त्यस्तै केही साताअघि मनकामना इन्जिनियरिङले रेन्ज रोभरको हाइब्रिड कार अन्डर इन्भ्वाइस गरि नेपाल भित्र्याएको थियो। उक्त कार अन्डर इन्भ्वाइस भएको आशंकामा वीरगञ्ज भन्सारले छालबिन गर्दा पुष्टि भएपनि ४९ हजार ५ सय डलरमा किनिएको कारको मूल्य ९६ हजार ८ सय डलर कायम गरेको थियो।
मेकानिकल इन्जिनियर राखेपछि माथि उल्लेख गरिएजस्तै बदमासी तत्कालै छानबिन गर्न र भन्सारमा लामो समयदेखि अलपत्र परेका सवारीको व्यवस्थापनमा सहज हुने विश्वास भन्सार विभागले गरेको छ। दरबन्दी कायम भइसकेकाले इन्जिनियरको खोजी भइरहेको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।