काठमाडौं-पछिल्लो १० वर्षको वैदेशिक व्यापारमा आयात २०० प्रतिशतभन्दा धेरैले बढ्दा निर्यात जम्मा ५५ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०६७/०६८ देखि २०७६/०७७ सम्मको तथ्यांक हेर्दा आयातको तुलनामा निर्यात वृद्धि कमजोर रहेको पाइएको छ।
भन्सार विभागका अनुसार १० वर्षमा आयातमा २०७ प्रतिशतले वृद्धि भएको छ। १० वर्षअघि वार्षिक ३ खर्ब ९० अर्ब रूपैयाँको आयात भएकोमा गत आर्थिक वर्षको अन्त्यमा ११ खर्ब ९६ अर्ब रूपैयाँ पुगेको छ।
यो अवधिमा निर्यात भने न्यून दरमा बढेको छ। विभागका अनुसार निर्यात वृद्धिदर ५५ प्रतिशत छ। १० वर्षअघि ६२ अर्ब रूपैयाँ रहेको निर्यात गत वर्ष ९७ अर्ब रूपैयाँ पुगेको विभागले जनाएको छ।
भन्सार विभागका महानिर्देशक सुमन दाहाल अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी वस्तु उत्पादन गरी निर्यात प्रवर्द्धन नगरेसम्म यस्तै अवस्था रहने बताउँछन्। उनले औद्योगिक कच्चा पदार्थ तथा पुँजी निर्माणमा योगदान गर्ने वस्तुको माग बढेका कारण पनि आयातमा चाप परेको बताए।
'नेपालमा उत्पादन कम भएका वस्तु आयात गरेर नै उपभोग भएका कारण आयात बढेको हो। अर्कोतर्फ औद्योगिक कच्चा पदार्थ तथा इन्धन आयातमा भएको वृद्धिले पनि समग्र आयातको तथ्यांक बढाएको छ,' महानिर्देशक दाहालले भने, 'निर्यात पनि बढिरहेको छ, तर त्यो आयातको तुलनामा कम छ। हामीले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी वस्तु उत्पादन गरी निर्यात गर्न सकेको खण्डमा वैदेशिक व्यापार सन्तुलन गर्न सक्ने थियौँ।'
आयातमा देखिएको वृद्धिसँगै राजस्व संकलन पनि बढेको छ। १० वर्षको अन्तरालमा राजस्व संकलन २४० प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०६७/०६८ मा ९० अर्ब रूपैयाँ भन्सार राजस्व संकलन भएकोमा गत आर्थिक वर्षको अन्त्यमा त्यो बढेर ३ खर्ब ५ अर्ब रूपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।