काठमाडौं–कोरोना भाइरस संक्रमणको जोखिमका कारण रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को फारम ९ महिना पछि खुलेको छ। गत चैतदेखि सवारी चालक अनुमतिपत्रको फारम तथा प्रयोगात्मक परीक्षा रोकिएको थियो।
स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पुरा गरेर मंगलबार (पुस १४) बाट सातै प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम खुल्ला गरिएको यातायात विभागले जनाएको छ। साना तथा ठूला सबै प्रकारका सवारीको अनुमतिपत्रका लागि अनलाइन फारम खुल्ला गरिएको हो। अब लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) नियमित हुनेछ।
लकडाउन अगाडिका ट्रायल दिन नपाएका परीक्षार्थीका लागि छिट्टै सम्बोधन गरी कार्यविधि संशोधन गर्ने विभागले जनाएको छ। उपत्यकामा ४ सहित देशभर विभागका १७ वटा कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण हुँदै आएको छ।
सेवाग्राहीलाई सुविधा प्रदान गर्ने गरि मोटरसाइकलमा दैनिक १ सय, स्कुटर र चारपाङग्रे सवारीमा ५०/५० गरि २ सयले अनलाइन आवेदन दिनपाउने व्यवस्था गरिएको लाइसेन्स कार्यालय चावहिलका प्रमुख विष्णु भट्टराईले बताए। स्वास्थ्य सुरक्षाको अवस्थालाई हेरेर तत्काल दैनिक २ सय सेवाग्राहीलाई व्यस्थापन गर्ने गरी प्रकृया अगाडि बढाइएको उनको भनाइ छ। अन्य कार्यालयहरुले समेत त्यस्तै संख्यामा आवेदन खुलाएका छन्।
लिखित पास भएकालाई ट्रायल दिन समय थपिँदै
सवारी चालक अनुमतिपत्र लिन लिखित परिक्षा पास गरेका परीक्षार्थीले अब १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने छन्। यसअघि लिखित परीक्षा पास गरेर ट्रायलमा फेल भएका परीक्षार्थीले ९० दिनभित्र २ पटक ट्रायल दिन पाउने व्यवस्था थियो। सरकारले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि लिखित परीक्षा पास भएर ट्रायल दिन नपाएका र पहिलो पल्ट ट्रायलमा फेल भएका परीक्षार्थीलाई सहज हुने गरि यो नियम ल्याउने तयारी विभागले गरेको छ।
यातायात व्यवस्था कार्यविधि निर्देशिका–२०६६ ९संशोधन०ले सवारी चालक अनुमतिपत्र लिन लिखित परीक्षा पास भएको व्यक्तिले पहिलो पटक ट्रायल पास नभए ९० दिनसम्म २ पटक ट्रायल दिन पाउने व्यवस्था गरेको थियो। तर लकडाउनका कारण ९ महिनादेखि अनुमति पत्र तथा ट्रायलको परीक्षा बन्द हुँदा लकडाउन अगाडिका परीक्षार्थी मारमा परेका थिए।
उक्त व्यवस्थालाई संशोधन गर्न विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सैद्धान्तिक सहमति मागेको छ। मन्त्रालयले सहमति दिएसँगै विभागले संशोधित कार्यविधि कार्यान्वयनमा ल्याउने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।