काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार काठमाडौंमा डम्फू नाचसहित कोण सभामार्फत नागरिक प्रदर्शन भएको छ। मेरो संविधान खोइ?, संसद विघटनको दुस्साहस लोकतन्त्रको उपहास, जनादेशको हत्या, न्याय गर्छ म्याउँ म्याउँ सरकार भन्छ उछिट्याँउ जस्ता नारा लेखिएको प्लेकार्डसहित नागरिक प्रदर्शनमा सामेल भए।
डम्फू नाच, कविता वाचनसहित केही प्रतिनिधि वक्ताले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाचारी ढंगमा काम गरिरहेको भन्दै सरकारको विरोध गरेका थिए। प्रतिगमनको सशक्त विरोधका लागि नागरिक अगुवाले शनिबार दिउँसो पनि माइतीघरमा शंख बजाएर प्रदर्शन गरेका थिए। त्यसैलाई निरन्तरता दिँदै सोमबार पनि डम्फूसहित प्रदर्शन भएको हो।
‘प्रतिगमनविरुद्ध नागरिक आन्दोलन’को ब्यानरमा माइतीघरमा प्रदर्शन निरन्तर हुने नागरिक आन्दोलनका संयोजन गरिरहेका युग पाठकले बताएका छन्। अब आउने १५ गते धिमे बाजासहित कोणसभा, १७ गते च्याब्रुङसहित कोणसभा र १८ गते सडक नाटकसहित सभा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।