काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले केपी ओलीतिर गएका कतिपय नेताहरु वैशाखमा आफूतिर फर्किने बताएका छन्। उनीहरुलाई आफूहरुले क्षमा दिने बताए।
'केही साथीहरु क्षणिक स्वार्थका निम्ति, लोभका निम्ति जानुभएको छ। ती साथीहरु पहिलेपहिले पनि जाने गरेकैहरुमा पर्छन्। उनीहरु अहिले मात्रै गएका होइनन्। ती जानेबुझेका मान्छे पर्छन्। तपाईंहरु त्यसमा टेन्सन नलिनुहोला', उनले उपस्थितलाई आग्रह गर्दै भने, 'ती फेरि आउँछन् भन्ने देख्छु म। दुई चार महिना हेर्नुहोला, वैशाखपछि आउँछन्। जाने ठाउँ नै बाँकी रहँदैन बिचरा। आए भने हामी क्षमा दिन सिपालु छौं। दिइहाल्छौं।'
सोमबार जनसांस्कृतिक महासंघ, नेपालको प्रशिक्षण भेलामा सम्बोधन गर्दै उनले ओली सरकार भने विघटित भएको दाबी गरे।
'अहिले सविधानले दिँदै नदिएको, हुँदै नभएको अधिकार प्रयोग गरिएको छ। मैले भनेको छु- सदन मरेको छैन, जिवित छ, विघटन भएको छैन। विघटन भएको केपी ओलीको सरकार हो। उसले जनता र संविधानको मर्म र भावना विरुद्ध गएपछि ऊ विघटित भएको हो। त्यसैले उसले अनाधिकृत रुपमा संसद्को हत्या भएको भनेको छ, हत्या भएको छैन', उनले भने।
प्रचण्डले अदालतप्रति आफूलाई भरोसा भएको व्यक्त गरे। 'संविधानको व्यवस्था अनुसार सदनलाई सुरु गर्ने आदेश आउनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु', उनले भने।
एकजना व्यक्तिलाई रिस उठ्यो भने संसद विघटन गर्न नसकोस् भनेर नै संविधानमा त्यो अधिकार नदिएको उनले बताए। 'त्यतिबेला केपी ओली पनि सहमत हुनुहुन्थ्यो', उनले भने।
नेपाली जनताको सार्वभौम अधिकारमाथि केपी ओलीको गरेको प्रहारको प्रतिकार गर्न आवश्यक रहेको उनले बताए।
'पार्टी विवाद चलेको हो। विधान अनुसार चल्नुपर्छ भन्ने र गुटवादी तरिकाले चल्नुपर्छ भन्ने विवाद चलेको हो। तर इतिहासमा प्रतिगमनको वाहक बन्नु दुर्भाग्य हो। केपी ओली इतिहासमा पराजित हुनुभयो। उहाँले कलंकको टीका लगाउनुभयो', उनले भने।
आफूहरु संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा, एकताको पक्षमा रहेको उनले बताए।
आफूहरु सडकमा बस्दा कतिपयले सडकमा पुगे भनेर चिन्ता व्यक्त गरेको पनि आफूहरु जनताकोमा पुगेको प्रचण्डको भनाइ थियो।
प्रचण्डले केपी ओलीले जनताको पक्षमा जाने मुद्दा दिएकोमा धन्यवाद पनि दिए। 'उनले हामीलाई जनताको पक्षमा लड्ने योद्धा बनाइदिए। राजनीतिक रुपले हामीले बाजी जितेका छौं', उनले भने, 'कसैले पनि टेन्सन लिनुपर्ने छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।