काठमाडौं–प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज सोमबार देशव्यापी विरोध प्रदर्शन गर्दैछ। बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारको कदमविरुद्ध १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो।
विरोध प्रदर्शनका लागि केन्द्रीय नेताहरु सम्भव भएसम्म आफ्नै निर्वाचन क्षेत्रमा सहभागी हुनेछन्। यद्यपि कांग्रेसले केन्द्रीय नेताहरुलाई विरोध प्रदर्शनमा सहभागी हुन निश्चित स्थान तोकेको छैन।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा कोटेश्वरको विरोध प्रदर्शनमा सहभागी हुनेछन् भने नेता गगन थापाले नेपालगन्जको सभामा सम्बोधन गर्ने भएका छन्। सोमबारको विरोध प्रदर्शनको समीक्षा गरेपछि मात्रै अर्को विरोधको प्रारूप तयार गर्ने कांग्रेसले जनाएको छ।
जारी केन्द्रीय समिति बैठकलाई केही दिन स्थगित गरी प्रदर्शनको तयारी गर्ने पार्टीले जनाएको थियो। पार्टी सभापति शेरबहादुर देउवा पक्ष संसद पुनर्वहालीको पक्षमा देखिएका छैनन्। संस्थापन इतरका नेताहरु भने संसद विघटन असैंवधनिक कदम भएकाले पुनर्स्थापनाको मागसहित पार्टी सडकमा जान जोड दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।