काठमाडौं- सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले एक वर्षको तलब भत्ता बापत एक करोड ३५ लाख रुपैयाँ बुझेका छन्। बैंकले पौडेललाई गत आर्थिक वर्ष २०७६/७७ मा तलब तथा सम्पूर्ण भत्ताबापत उक्त रकम दिएको हो। पौडेलले तलबभत्ता बाहेक सवारी साधनको सुविधा पाउँछन्।
प्रचलित बोनस ऐनअनुसार बोनस सुविधासमेत उपलब्ध गराइएको बैंकले जनाएको छ। बैंकको उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूले पनि गतवर्ष तीन करोड ३७ लाख रुपैयाँ तलब भत्ता बुझेका छन्। अन्य पदाधिकारीहरुलाई बैंकको नीतिअनुसार सवारी साधन सुविधा पाएका छन्। उनीहरुले कर्मचारी विनियमावलीअनुसार आवासीय घरकर्जा समेत प्राप्त गरेका छन्।
बैंकका सञ्चालकहरुले गत आर्थिक वर्षमा बैठकभत्ता बापत ४७ लाख ५२ हजार रुपैयाँ बुझेका छन्। आयकर ऐन अनुसार उनीहरूलाई करकट्टी गरेर उक्त रकम प्राप्त गरेका हुन्। बैंकले सम्पुर्ण कर्मचारीहरुलाई बोनस सहित एक अर्ब ३५ करोड रुपैयाँ दिएको छ।
बैंकले पुस २४ गते तेह्रौ वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभामा बैंकले गत वर्षको मुनाफाबाट २.४८ प्रतिशत नगद लाभांश र ५.८० प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको छ। सेयरधनीहरुले २२ करोड २४ लाख रुपैयाँ नगद लाभांश र ५२ करोड एक लाख रुपैयाँ बोनस सेयर प्राप्त गर्ने छन्।
बैंकले घोषणा गरेको उक्त लाभांश पुस ६ गतेसम्म कायम सेयरधनीहरुले मात्रै प्राप्त गर्ने छन्। बैंकले साधारणसभामा अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ती गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चलअचल सम्पत्ति तथा दायित्व र कारोबारको मूल्याङ्कन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ती गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव लैजाँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।