काठमाडौं- जनता समाजवादीका नेता राजेन्द्र महतोले प्रतिनिधि सभा विघटन गर्ने कदमलाई प्रतिगमन भएको भन्दै आलोचना गरे। आइतबार रत्नपार्कको शान्तिवाटिकामा आयोजित सभालाई सम्बोधन गर्दै महतोले पछिल्लो प्रतिगमन भने कुर्सीको लागि भएको बताए।
'फेरि प्रतिगमन आयो। कति प्रतिगमन, कति प्रतिगमन। नेपाली जनताले कति प्रतिगमन भोग्नुपर्ने हो? केपी ओलीले संविधानमा प्रतिगनम गरे। तर यो पहिलो पटक होइन। पहिले राजाले गर्थे। अहिले नयाँ राजाले गरे', उनले भने, 'संविधान बनाउँदा पनि प्रतिगमन गरेको हो। गोली हानेर प्रतिगमन गरेको हो। सीमान्तकृतले आन्दोलन गरे पनि त्यस अनुसार संविधान बनेन। प्रतिगमन भयो। अहिले कुर्सीको लागि प्रतिगमन भयो।'
सातवटा संविधान बनाइए पनि प्रतिगमन भएको उनले बताए। उनले शासकको चरित्र नश्लीय भएको भन्दै आलोचना गरे।
नेपाल सबैको देश भएको भन्दै उनले सबैको अधिकार र पहिचान हुने गरी संविधान बनाउनुपर्ने बताए। राजाको प्रतिगमन त नटिक्ने देशमा ओलीको प्रतिगमन नटिक्ने बताए।
आफ्नो सम्बोधनमा महतोले पटकपटक 'प्रतिगमन मुर्दावाद' भन्दै नारा लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।