काठमाडाैं-प्रदेश १ का तीन मन्त्रीले आइतबार पदवाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै उनीहरुले पदबाट राजीनामा दिएका हुन् ।
अर्थमन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेको भोलिपल्ट सामाजिक विकासमन्त्री जीवन घिमिरे र दुई राज्यमन्त्रीले राजीनामा दिएका हुन्। सामाजिक विकासमन्त्री घिमिरेसँगै राजीनामा दिनेहरुमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वास छन् ।
केन्द्रमा नेकपा विभाजित भएपछि त्यसको असर प्रदेश १ मा पनि परेको हो। अविश्वासको प्रस्ताव तयारी गरेको भन्दै शनिबार मुख्यमन्त्री राईले आङ्बोलाई बर्खास्त गरेका थिए । अर्थमन्त्री आङबो यसअघि बादल समूहमा थिए । तर, प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि उनले बादलको साथ छाडेर प्रचण्ड–माधव समूहलाई साथ दिँदै अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।
प्रदेश १ का नेता सावित्रीकुमार काफ्ले पनि बादल समूहमै थिए। तर, बादल केपी ओलीको पक्षमा लागेपछि काफ्लेले पनि बादलको साथ छाडेका छन् ।
कुल ९३ सीट रहेको प्रदेश सभामा नेकपाका मात्रै ६७ सांसद छन् । पार्टी विभाजनपछि ओली समूह अर्थात मुख्यमन्त्री राईको पक्षमा २० जना मात्रै छन् भने प्रचण्ड–माधव पक्षमा ४७ सांसद छन् । केही सदस्यहरु यता उता गरिरहेका छन् ।
पार्टी विभाजनसँगै मुख्यमन्त्री शेरधन राईले संसदीय दलभित्रको बहुमत गुमाएका छन् । यसअघि माधव नेपाल पक्षले साथ दिएका कारण भीम आचार्यलाई हराएर शेरधन राई संसदीय दलको नेता तथा मुख्यमन्त्री बनेका थिए। माधव नेपाल पक्षको साथ नपाएको भए ओली पक्षले प्रदेश १ मा मुख्यमन्त्री पाउने सम्भावना यसअघि पनि थिएन ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।