काठमाडौं-आफूहरुले उठाएका विभिन्न १८ बुँदे माग पुरा नभएको भन्दै स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ/संगठनहरु आन्दोलनमा उत्रिएका छन्।
सरकारलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि माग पुरा नभएको भन्दै आन्दोलनमा उत्रिएको संयुक्त संघर्ष समितिले जनाएको छ। आन्दोलनअन्तर्गत आज आइतबार ११ बजेबाट उनीहरु माइतीघर मण्डलामा प्ले कार्डसहित मौन धर्ना बस्दैछन्।
मन्त्रालयलाई दिएकाे २१ दिनको अल्टिमेटम अवधिमा पनि माग पुरा नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको समितिले जनाएको छ।
स्वास्थ्य क्षेत्रका २३ वटा पेशागत संघ संगठनले गत मंसिर ७ गते मन्त्रालयसामु विभिन्न १८ बुँदे माग सहितको ज्ञापन पत्र बुझाउँदै २१ दिनको अल्टिमेटम दिएका थिए।
कोभिड लगायत अन्य जटिल रोगको सबै उपचार राज्यले नि:शुल्क गर्नुपर्ने, आइसीयु, भेन्टिलेटरलगायत उपकरणहरुको संख्या देशैभरका अस्पतालमा वृद्धि गरी सेवा विस्तार गर्नुपर्ने, निश्चित मापदण्डका आधारका सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन, आइसोलेसन र बिदाको व्यवस्थापन हुनुपर्ने लगायत १८ बुँदे माग उनीहरुले अघि सारेका हुन्।
नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल प्रतिगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन लगायत २३ वटा संघ संगठनले ऐक्यवद्धता जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।