काठमाडौं–भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतको खोप उत्पादक कम्पनी सिरम इन्सिच्युटका वरिष्ठ अधिकारीहरुसँग भेटवार्ता गरेका छन्। सिरम इन्सिच्युटले निर्माण गरिरहेको कोरोना खोपलाई नेपालमा ल्याउने सम्भावनाका बारेमा आचार्यले इन्सिच्युटका वरिष्ठ अधिकारी प्रकाश सिंहसँग वार्ता गरेको जनाइएको छ।
सिरम इन्सिच्युटले बेलायतको अक्सफोर्ड तथा एस्ट्राजेनेका कम्पनीद्वारा विकसित खोप उत्पादन गरिरहेको छ। यो खोप ७० देखि ९० प्रतिशत प्रभावकारी रहेको बताइएको छ।
बिबिसी हिन्दीसँग कुरा गर्दै राजदूत आचार्यले सिरम इन्सिच्युटको उत्पादन क्षमता ठूलो रहेको र यसले नेपालकोआवश्यकता पनि पूरा गर्न सक्ने बताए। उनले इन्सिच्युटसँग भएको कुराकानी सकारात्मक रहेको पनि बताए।
आचार्यले भारतीय नीति आयोगका प्रमुख अमिताभ कान्तसँग पनि कुरा गरेको थिए। त्यसअवसरमा कान्तले नेपाललाई खोपमा प्राथमिकता दिने बताएका थिए। यसअघि नेपाल भ्रमणका क्रममा भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगलाले पनि नेपालको खोपको आवश्यकता भारतको प्राथमिकतामा रहेको बताएका थिए।
राजदूत आचार्यले नेपालले प्रारम्भिक चरणमा आफ्नो २० प्रतिशत जनसंख्यालाई कोरोना खोप दिने प्रयास गर्ने बताएका थिए। उनले नेपालको प्रारम्भिक चरणको आवश्यकता अर्थातु १ करोड २० लाख डोज खोपको आवश्यकता भारतबाट पूरा गर्न सकिने पनि बताए।
भारतमा बनेको खोप नेपालका लागि सस्तो र आपूर्ति सजिलोका लागि पनि उपयोगी हुने बताइएको छ। भारतमा निर्माण भएको कोरोना खोपको मूल्य १५०० भारतीय रुपियाँ हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।