काठमाडौं–काठमाडौँ उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ। यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस थियो।
अबको केही दिन देशभरको तापक्रम निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। ‘राति आकाश खुला भए बिहानको तापक्रम घट्ने र राति बदली भए तापक्रम बढ्ने हुन्छ’, उनले भनिन्। यस वर्ष काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ।
विभागले सूचना जारी गर्दै चिसो रहिरहने तथा तराई÷पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सु÷कुहिरोका कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेको छ ।
विभागको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री र अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव ४ डिग्री र सबैभन्दा धेरै धनकुटाको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस रहेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।