काठमाडौं- नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका नेता योगेश भट्टराईले वास्तविक नेकपा आफूहरुको पार्टी भएको बताएका छन्।
शुक्रबार निर्वाचन आयोग गएको टोलीलाई जमलमा सम्बोधन गर्दै भट्टराईले भने-'निर्वाचन आयोग संवैधानिक आयोग हो। हामी निर्वाचन आयोगलाई भन्दैछौं- नेपाल कम्युनिस्ट पार्टी नेकपा अब बालुवाटारको नेकपा होइन। यो सडकको नेकपा हो। खबरदार, निर्वाचन आयोगले तलमाथि गर्न पाइँदैन। यो हँसिया हथौडाको झन्डा, सूर्य चिह्नको झन्डा हाम्रो झन्डा हो।'
उनले आफूहरुले बहुमत केन्द्रीय कमिटीका सदस्यहरुको हस्ताक्षर दिइसकेको बताए। 'आज हामी स्वयं उपस्थित भएका छौं। प्रचण्ड र माधव नेपालको नेतृत्वमा हामी निर्वाचन आयोगलाई भन्दैछौं- यो चिह्न, झन्डा यो नेकपाको चिह्न हो, तपाईंहरुले तलमाथि गर्न पाउनुहुन्न।'
उनले आफूहरुको पक्षमा नतिजा आउने विश्वास व्यक्त गरे। 'हामीलाई विश्वास छ, संविधान हामीले बनाएका हौं। कानुनी राज्य छ, संविधानको सर्वोच्चता छ। त्यसैले जनताले बलिदानबाट ल्याएको संविधानमाथि कसैले पनि हस्तक्षप गर्न पाउँदैन। आज हामीले यो सन्देश दिएका छ', उनले भने।
भट्टराईले माइतीघरबाट सर्वोच्च अदालतका न्यायाधीशहरुलाई संसद् विघटन गर्न पाइँदैन भन्ने सन्देश दिएको बताए। 'संसद विघटनको निर्णय खारेज हुनैपर्छ भनेर हामीले भनेका छौं', उनले भने।
भट्टराईले सडक आफूहरुको हो भन्दै त्यसलाई बालुवाटारले केही पनि गर्न नसक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।