काठमाडौं– नेपाली शान्ति सैनिकले अफ्रिकी मुलुक सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख सहर बम्बारीलाई बिद्रोहीको कब्जामा पर्नबाट जोगाएका छन्।
डिसेम्बर २७ मा हुन लागेकाे आमनिर्वाचनमा पूर्वराष्ट्रपति फ्रान्कोइस बोजीलाई उम्मेदवार हुनबाट रोकेपछि सुरु भएको सशस्त्र विद्रोहले बम्बारीमा उग्र रुप लिएको थियो। निर्वाचन हुने वा नहुने भन्ने अनिश्चित बन्दै गएको स्थितिमा विपक्षी राजनीतिक दलहरुले पनि शान्ति सुरक्षाको अवस्था चिन्ताजनक भएको भन्दै चुनावको मिति सार्न सरकारलाई आग्रह गरेका थिए ।
उता विद्रोही समूहले भने उत्तर, दक्षिण र पश्चिम भागबाट आक्रमण सुरु गरी राजधानी बांगुइ सहर प्रवेश गर्ने प्रयास गरेका थिए। विद्रोहीको उक्त प्रयास रोक्न शान्ति मिसन मिनुस्काले शान्ति सैनिकलाई सरकारी सेनालाई सहयाेग गर्न निर्देशन दिइएको थियो।
डिसेम्बर २२ मा विद्रोही समूह युनियन फर पिस इन सेन्ट्रल अफ्रिकन रिपब्लिक (युपिसी)ले चौथो ठूलो सहर बम्बारीलाई कब्जामा लिएको थियो। नेपाली शान्ति सैनिक गणको एक गुल्म परिचालन गरी विद्रोहीहरुलाई प्रतिकारात्मक कारबाही गर्दै उनीहरुलाई पछि हट्न बाध्य बनाएको थियो ।
नेपाली सेनाको रणशेर गणका गणपति प्रमुख सेनानी मिनराज तिवारीको कमाण्डमा गएको गुल्मले सरकारी सेना तथा सशस्त्र प्रहरीको क्याम्पमा भएको विद्रोहीको आक्रमण प्रयासलाई असफल पारेको हो। विद्रोहीको समूहबाट ठूलो संख्यामा हातहतियार र बिस्फोटक पदार्थ नियन्त्रणमा लिइएको नेपाली सेनाले जनाएको छ । उक्त कारबाहीमा नेपाली सेनातर्फ भने कुनै क्षति नभएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।