काठमाडौं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय समितिको बैठकअघि संस्थापनइतरका नेताहरुसँग बैठक गरेका छन्।
पार्टी सभापति शेरबहादुर देउवालाई आन्दोलनका लागि दबाब बढाउन संस्थापनइतरका नेताहरुको बैठक डाकेका हुन्। अनामनगरस्थित पौडलको सम्पर्क कार्यालयमा बैठक बसेको हो। बैठकमा नेता कृष्ण सिटाैला समूहका गगन थापा र प्रदीप पाैडेल पनि सहभागी भएका थिए। उक्त बैठकमा संस्थापनइतरका २२ जना सहभागी थिए।
पाैडेलले भने-'बैठकले संसद विघटनविरुद्ध आन्दाेलनकाे घाेषणा गर्न दबाब दिने निर्णय गरेकाे छ।'
देउवा पक्ष निर्वाचनको पक्षमा देखिएपछि पार्टीमा विवाद देखिएको छ। संस्थापनइतरका नेताहरु संसद विघटनविरुद्ध सडकमा जानुपर्ने मत राखिरहेका छन्। देउवा पक्षका नेताहरु भने कांग्रेस निर्वाचनतिर केन्द्रित हुनुपर्ने बताएका छन्।
मंगलबारदेखि जारी केन्द्रीय समितिको बैठकमा संसद विघटन असंवैधानिक भएकाले त्यसविरुद्ध शसक्त प्रतिरोध गर्नुपर्ने संस्थापन इतरका नेताहरुले बताएका छन्। अदालतको फैसला कुर्न नहुने तर्क उनीहरुको छ।
देउवापक्षीय नेताहरुले अदालतको फैसलालाई कुर्दै निर्वाचनको तयारीमा जुट्नुपर्ने धारणा राखेका छन्।
कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार पनि जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।