काठमाडौं- संघीय संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पुस ५ गते ३ बजेर ३० मिनेट जाँदा नै अविश्वास प्रस्ताव दर्ता भएको प्रष्ट पारेको छ।
पुस ५ गते प्रधानमन्त्रीले संसद विघटन गर्नुअघि नै उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको चर्चा चलेको थियो। दर्ता समयलाई लिएर विभिन्न सञ्चार माध्यममा आएका समाचारको सम्बन्धमा सचिवालयको ध्यानाकर्षण भएको जनाइएको छ।
'अविश्वास प्रस्ताव प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू समक्ष पेश गरी कार्यव्यवस्था शाखा (प्रतिनिधि सभा) मा दर्ता हुने प्रचलन रहेको र २०७७ पौष ५ गतेका दिन पनि सम्माननीय सभामुखज्यूलाई सम्बोधन गरी विधिवत् रुपमा पेश भई सम्माननीय सभामुखज्यूको तोक आदेश भएपछि साेही दिन अपराह्न ३:३० बजे कार्यव्यवस्था शाखा (प्रतिनिधि सभा) मा दर्ता भएको व्यहोरा जानकारी गराइन्छ', संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।