काठमाडौं–नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालाई कानुनविद्ले फरक-फरक राय दिएका छन्।
नेता कोइरालाले संसद विघटनपछिको संवैधानिक संकटका विषयमा परामर्श लिन कानुनविद्हरुलाई मंगलबार विहान आफ्नो निवासमा डाकेका थिए। कानुनविद् डा भीमार्जुन आचार्य र अधिवक्ता सुनील पोखरेलले कांग्रेस सर्वोच्च अदालततिर नगएर मध्यावधि निर्वाचनमै जान उपयुक्त हुने राय दिएका छन्। कांग्रेस सडकमा गए पनि मध्यावधि निर्वाचन गर्ने वातावरण बनाउनका लागि जानुपर्ने उनीहरुको तर्क थियो। संसद पुनर्स्थापना भए व्यवस्थामाथि नै खतरा उत्पन्न हुने आचार्य र पोखरेलको भनाइ थियो।
कानुनका जानकार अन्यले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम ‘असंवैधानिक कु’ भएकाले संसद पुनर्बहालीकाे मागमा कांग्रेस जानुपर्ने तर्क गरेका थिए। राधेश्याम अधिकारी, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, महादेव यादव, बसन्तराम भण्डारी,रामकृष्ण तिमल्सेना, योगेन्द्र अधिकारी, र एकराज पोख्रेल संसद पुनर्बहालीको पक्षमा देखिएका थिए। कानुनी बाटोका लागि कांग्रेस सर्वोच्च जानुपर्ने उनीहरुको भनाइ थियो। संस्थागत रुपमै संसद विघटनको विरोधमा जानुपर्ने उनीहरुले राय दिएका थिए।
शेखरले छलफलका लागि केही केन्द्रीय सदस्यलाई पनि बोलाएका थिए। केन्द्रीय सदस्यहरु दिपक गिरी, रामकृष्ण यादव, गगन थापा, बद्री पाण्डे र जीवन परियार पनि छलफलमा सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।