काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बानेश्वरमा गरेको सांसदहरुको भेलाले संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ।
भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकार गरेको घोषणा गर्दै संसदको नियमित अधिवेशन बोलाउन माग गरेको हो। भेलामा विघटित प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरू उपस्थित थिए।
भेलामा उपस्थितिका लागि भनेर गरिएको हस्ताक्षर संकलनमा विघटित प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसदले हस्ताक्षर गरेका छन्। बुधबारलाई फेरि संसदीय दलको बैठक बोलाउने निर्णय पनि भेलाले गरेको छ। केही समयअघि सकिएको यो बैठकलगत्तै बानेश्वरमा हुने भनिएको स्थायी कमिटीको बैठक स्थगित गरिएको छ।
बैठक स्थगित गरेर नेताहरू प्रमुख प्रतिपक्षी कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन सानेपा हिँडेका छन्। कांग्रेस र जसपासहित नेकपाको दाहाल-नेपाल समूहले संयुक्त विरोध कार्यक्रम गर्ने अनौपचारिक सहमति आइतबारको बैठकमा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।