काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद विघटनको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य र मान्यताविपरीत रहेको जनाएको छ।
संसद विघटनले प्रजातान्त्रिक मूल्य र मान्यतालाई गम्भीर क्षति पुर्याएको भन्दै बैठकले उक्त असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी निर्णयको विरोध र भर्त्सनासमेत गरेको छ।
आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले संविधान र प्रजातान्त्रिक मूल्य मान्यताविपरीत रहेको दाबी गरेको हो। बैठकले मन्त्रिपरिषद्को सिफारिसमा संसद विघटन हुने व्यवस्था संविधानले नगरेको दाबी गर्दै सत्तारुढ दलभित्रको आन्तरिक विवाद र विग्रहका कारण देश अस्थिरता र अराजकताको भूमरीमा फसेको निष्कर्ष निकालेको छ।
बैठकपछि आइतबार जारी विज्ञप्तिमा पार्टीले राष्ट्रपतिले राष्ट्रप्रमुखको तटस्थ भूमिकालाई फेरि एकपटक विवादास्पद तुल्याएको दाबी गर्दै भनिएको छ‚ ‘प्रतिनिधिसभाको विघटनको पछिल्लो घटनाक्रमले २०६२/०६३ पछि अवलम्बन गरिएको अवधारणा र मार्गचित्र गलत छ भन्ने तथ्यलाई थप पुष्टि गरेको छ। परिवर्तित सन्दर्भलाई विगतको त्रुटि कमिकमजोरी सच्याउने र राष्ट्रिय मेलमिलापको नीतिअनुरुप सबै नेपाली अटाउने राजनीतिक संरचना र शासकीय स्वरुप निर्माणको अवसरका रुपमा प्रयोग गर्न सम्बद्ध सबै पक्षमा राप्रपा अपिल गर्दछ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।