काठमाडौं- विवेकशील साझा पार्टीले सरकारले संविधानमाथि 'कू' गरेको आरोप लगाएको छ। प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेर अनायासै संसद विघटनको सिफारिस गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम भएको विवेकशील साझा पार्टीको ठहर छ।
'यो संविधानमाथिको स्पष्ट कू हो,' पार्टी अध्यक्ष रवीन्द्र मिश्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ। नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार प्रदान नगरेको मिश्रको विज्ञप्तिमा उल्लेख छ।
'संसदबाटै वैकल्पिक सरकार निर्माण गर्ने अधिकार संसदलाई छ। सो अधिकारको प्रयोग नै नगरि निहित स्वार्थपूर्तिका लागि कुण्ठा र अहंग्रस्त कदम चालेर प्रधानमन्त्री ओलीले देशलाई अस्थिरता र सम्भावित दुर्घटनातर्फ धकेलेका छन्,' विज्ञप्तिमा भनिएको छ, 'यो, लोकतन्त्रमा विरलै प्राप्त हुने झण्डै दुई-तिहाई जनमतमाथिको निर्लज्ज घात हो र जनताले यसको बदला आउँदा निर्वाचनमा लिनेछन् भन्ने हामीलाई विश्वास छ।'
पार्टीले प्रधानमन्त्री ओलीको किचेन क्याबिनेटका विश्वासिलो सहयोगीमा रूपान्तरित भएर राष्ट्रपतिको गरिमालाई नै बारम्बार गिराएको आरोप राष्ट्रपति विद्यादेवी भण्डारीमाथि लगाएको छ।
'यसपटक पदको गरिमा जोगाउन मन्त्रिपरिषदको सिफारिश सदर नगर्न विवेकशील साझा पार्टी जोडदार माग गर्दछ,' विज्ञप्तिमा भनिएको छ, 'बारम्बार अलोकतान्त्रिक, अनुदार व्यवहार गर्दै आएका प्रधानमन्त्री ओली बढ्दोरूपमा राष्ट्रघाती समेत देखिन थालेका छन्। संसद विघटनको उनको सिफारिशका बारे संघिय संसदमा प्रतिनिधित्व भएका राजनीतिक दलहरूसँग तत्काल छलफल सुरू गर्न विवेकशील साझा पार्टी राष्ट्रपति भण्डारीसँग आग्रह गर्दछ।'
पार्टीले प्रधानमन्त्रीको कमदविरुद्ध एकजुट भएर विरोधमा उत्रिन पनि आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।