चितवन– कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउनसँगै बन्द भएको मनकामना केबलकारको सेवा करिब ९ महिनापछि संचालनमा आएको छ। आइतबारदेखि केबलकार सेवा पुनः संचालनमा आएको हो।
मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको बैठकले बजार, मन्दिर र केबुलकारको संयुक्त निर्णयअनुसार आइतबारदेखि केबलकार संचालनमा ल्याइएको केबलकारले जानकारुी दिएको छ।
आइतबार बिहान ९ बजेदेखि केबलकारको सेवा संचालन सुरु गरिएको थियो। केबलकारले यात्रुहरुलाई पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर संचालनमा ल्याइएको जनाएको छ। केबुलकारका दुवै स्टेसनमा ज्वरो मापन, मास्क अनिवार्य, लाईनमा बस्दा भौतिक दुरी, हात धुने आदि व्यवस्था मिलाइएको बताइएको छ। केबुलकार सेवा क्षमताको ५० प्रतिशत (प्रतिघण्टा ३३० जना) यात्रुलाई सेवा दिइने र तत्पश्चात् स्वतः प्रवेश बन्द गरिने समेत जनाएको छ।
कोरोनापछि खुलेको केबलकार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म संचालन गरिनेछ। तर शनिबारको दिन दर्शनार्थीहरुको चाप बढी भएमा बिहान ८ बजेदेखि नै संचालनमा ल्याइने समेत ल्याइने केबुलकारले जनाएको छ। केबुलकार खुलेसंगै मनकामना क्षेत्र आसपासका व्यापार व्यवसायमा समेत चहलपहल देखिन थालेको छ।
केबुलकारले कोरोना संक्रमणलाई ध्यानमा राख्दै नगद रहित कारोबारको लागि इ–सेवा, फोन–पे आदि जस्ता सेवा प्रदायक कम्पनीसँग सम्झौता गरी सकेको हुँदा यात्रुले केबुलकारको टिकट डिजिटल माध्यमबाटै खरिद गर्न सक्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।