फाइल तस्बिर
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र देखिएको समस्याको समाधान अल्पमत र बहुमतबाट हुन नसक्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पार्टी भित्रको अहिलेको समस्याको समाधान अल्पमत र बहुमतबाट हुन नसक्ने बताएका हुन्।
पार्टीको एकता नै ६० र ४० प्रतिशतको अनुपातमा भएकाले पनि बहुमत र अल्पमतमा जाँदा एकले अर्कोलाई समाप्त गर्ने स्थिति हुने भएकाले दुई अध्यक्षको सहमति बेगर कुनै पनि समस्याको समाधान हुन नसक्ने मन्त्री श्रेष्ठले बताएका हुन्।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको १९ पृष्ठ लामो दस्तावेज आरोपपत्र भएकाले पार्टीभित्र छलफल नै गर्न नहुने उनले बताए। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको ३८ पृष्ठ लामो दस्तावेज माथि छलफल गरेर अगाडि बढे मात्रै पार्टीले निकास पाउने पनि मन्त्री श्रेष्ठले बताएका हुन्।
मन्त्री श्रेष्ठले प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पद अबको चुनावपछि र पार्टी अध्यक्ष पद आगामी महाधिवेशनपछि मात्रै छाड्ने पनि स्पष्ट रहेको बताए। पार्टी एकता दुई अध्यक्षका सहमतिबाट मात्रै सम्भव भएको र सहमतिको आधारमा पार्टीलाई सञ्चालन गर्ने भनिएकाले अहिले पनि दुई अध्यक्षबीच सहमति हुन जरुरी रहेको बताए। दुई अध्यक्षमध्ये एकले समझदारी छाडेपछि समस्या उत्पन्न भएको पनि मन्त्री श्रेष्ठले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।