काठमाडौं- प्रभु बैंकले 'प्रभु बैंक डिबेञ्चर-२०८७' निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटललाई नियुक्त गरेको छ। बैंकले १० वर्ष अवधिको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने प्रकृयाँ अगाडि बढाएको हो। बिहीबार ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकका लागि प्रभुका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर गरेका छन्।
बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुनेगरी ४ अर्ब रुपैयाँ बराबरको ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ नामक ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको हो। २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो।
मेगा क्यापिटल मार्केट्स निष्काशन तथा विक्री प्रबन्धकत्वमा निकट भविष्यमा निष्काशन हुन लागेको ४ अर्ब रुपैयाँ बराबरको ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ को ट्रष्टीको रुपमा पनि मेगा क्यापिटल मार्केट्सलाई नै नियुक्त गर्नेसम्बन्धी सम्झौतामा पनि बिहीबार नै हस्ताक्षर भएको छ। नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भएपश्चात् ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ सार्वजनिक निष्काशन गरिने बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।