काठमाडौँ–एभरेष्ट बैंकले कोरोनापीडित साना व्यवसायीलाई सहयोग गर्न जोन्टा क्लब काठमाडौँलाई दुई लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ। बैंकको मुख्य कार्यालय लाजिम्पाटमा एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत जिके नेगीले जोन्टा क्लब काठमाडौँकी अध्यक्ष सीमा गोल्छालाई सहयोग रकम हस्तान्तरण गरेका हुन्।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक क्लब तथा संस्थाहरुलाई कोरोना महामारीको समयमा विभिन्न किसिमका सहयोग गर्दै आएको छ। यसै संस्थागत सामाजिक उत्तरदायित्वको निरन्तरतास्वरूप कोरोना महामारीमा मुख्य रुपमा प्रभावित भएका ठेलागाडा तरकारी तथा फलफूल व्यापारीका परिवारलाई सहयोग गर्ने उद्धेश्यले सो बराबरको चेक जोन्टा क्लबलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
सो कार्यक्रममा एभरेष्ट बैंकका डिजिएम डा सुधीरकुमार तथा जोन्टा क्लबकी अध्यक्ष आभा शाह, बैंकका कर्मचारी लगायतको उपस्थिति रहेको थियो। एभरेष्ट बैंकले हालै आफ्नो ग्राहक संख्या ११ लाखभन्दा अधिक वृद्धि गरेको छ भने बैंकले व्यवसायिक रुपमा सजिलो बैंकिङ सेवा बिस्तार गरेको छ। बैंकले देशभरि ९८ शाखा, ३१ राजस्व संकलन काउन्टर, १३० एटिएम र विश्वव्यापी नेटवर्क पनि संचालन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।