काठमाडौं- गण्डकी प्रदेशको पोखरामा फागुन २० गतेदेखि हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा नहुने भएको छ। प्रतियोगिता कहिले हुने भन्ने विषयमा राष्ट्रिय खेलकुद परिषद (राखेप)को आउँदो बोर्ड बैठकले तय गर्ने बताइएको छ।
युवा तथा खेलकुद मन्त्री जगत वहादुर बिश्वकर्माले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति आगामी राखेपको बोर्ड बैठकमा तय गरिने बताएका छन्। राखेपको आयोजनामा संचालन भएको अन्तक्रिया कार्यक्रममा उनले खेलाडीको स्वास्थ्यलाई जोखिममा राखेर राज्य अगाडि बढ्न नसक्ने बताउँदै कोभिडको प्रभाब र असरलाई न्यूनिकरण गदै खेलक्षेत्रको विकास-विस्तार र समृद्धिलाई कसरी लैजाने भन्ने नै चुनौती रहेको बताए।
‘१३ औं साग सम्पन्न भएपछि एक वर्षको अवधिमा खेलकुदले धेरै कुरा गुमाएको छ, कोरानाको परिवेश नभएको भए नवौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा आयोजना गर्ने संकल्पबाट बिचल्लित हुने थिएनौँ। यद्यपी भब्यताको कुनै कमि नरहने गरेर नवौं राष्ट्रिय खेलकुद हुन्छ, त्यसका लागि आगामी राखेपको बैठकले उपयुक्त मिति तय गर्ने छ’ उनले भने।
राखेपमा बुधबार भएको अन्तरक्रिया कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद २०७७ आयोजना तथा संचालन सम्बन्धी बिषयमा छलफल भएको थियो। त्यस्तै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यान्वयन तथा राष्ट्रिय संघको जिम्मेवारी दायित्व र खेल गतिविधि संचालन र सुरु गर्ने सम्बन्धमा ३६ राष्ट्रिय संघबीच छलफल भएको थियो।
राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले खेलकुदलाई सामान्य अवस्थामा फर्काउने प्रयास भएको बताएका छन्। ‘ओलम्पिकमा समावेश हुने खेललगायत अन्य खेलहरुको पनि प्रशिक्षण शुरु भएको छ, कोभिडको केन्द्र खेलकुद नबनोस् त्यो कुरामा हामी सचेत छौँ’ उनले भने।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले कोभिडका कारण नवौं राष्ट्रिय खेलकुद तोकिएको मितिमा हुन नसक्ने बताए। नेपाल कबड्डस् संघकी अध्यक्ष तुलसा थापा, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, बागमती प्रदेशका सदस्य–सचिव सुर्य भण्डारीलगायत विभिन्न संघका अध्यक्ष तथा महासचिवले अन्तरक्रिया कार्यक्रममा धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।