काठमाडौं- पुनर्गठित विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले अब आफूहरुले नेतृत्व पाउनुपर्ने बताएका छन्। बुधबार पार्टी एकता घोषणा गर्न आयोजित भर्चुअल समारोहमा सम्बोधन गर्दै मिश्रले विगतमा भएको पार्टी विभाजनबाट आफूहरु सुध्रिएको र गल्ती सच्याएको दाबी गरे।
'हामीलाई मौका दिन आग्रह गर्न चाहन्छौं। हामीले मौका पाएनौं भने, विफल भयौं भने यो देशको राजनीति सुध्रिनेवाला छैन। हामी कमसेकम सफल भयौं भने यी ठूला दलहरुमाथि पनि असर पर्छ। त्यसको दबाब पर्छ। उनीहरुलाई पनि सुध्रिन बाध्य बनाउँछौं हामी। तर हामी विफल भयौं भनेर कोही पनि हाँस्नुपर्दैन। हामी गरिराखेका छौं। हामी सुमन लिएर आएका छौं। सुप्रयास गरिराखेका छौं', उनले भने।
मिश्रले अब पनि नागरिकहरुले आफूहरुलाई साथ दिएनन् र हामीले प्रयास गर्दागर्दै पनि हामी नेतृत्वमा पुग्ने अवसरबाट वञ्चित गराए भने देशमा फेरि ओम्नी काण्ड, यती काण्ड, बालुवाटार काण्ड र लोकमान काण्ड भइराख्ने चेतावनी दिए। 'यो देशमा बालुवाटार काण्ड गर्नेहरु मन्त्री बनिराख्छन्। यो देशमा प्रधानमन्त्री प्रधानमन्त्रीको कुर्सीमा बसेर 'भ्रष्टाचारीहरु अपराधी हुन्' भनिराख्नुहुन्छ तर आजभन्दा ५० वर्षअगाडि यो देशका गाउँका जनताको जस्तो जीवन थियो, यो देशको सहरको मुहार जस्तो थियो, अहिले कंक्रिटको जंगल बनेको छ, त्यसमा परिवर्तन आउँदैन', उनले भने।
आफूहरुले मौका पाएमा धेरै स्रोत साधन सम्पन्न भएको र गौरवपूर्ण इतिहास भएको देश नेपाललाई दशदेखि बीस वर्षको बीचमा ट्र्याकमा लिएर आएर हाम्रै पुस्तामा यो रुपान्तरण अनुभूत गर्न सक्ने बिन्दुमा पुर्याउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।