काठमाडौं- नवगठित साझा विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई वैकल्पिक होइन, निर्विकल्प बनाउने बताए। बुधबार पार्टी एकताको औपचारिक घोषणा गर्न आयोजित भर्चुअल समारोहमा उनले आम जनताले वैकल्पिक पार्टीको रुपमा होइन, निर्विकल्प पार्टीको रुपमा स्थापित गर्नेछन् भन्ने विश्वास लिएको बताए।
एकताको दिन आफूलाई अत्यन्तै खुसी लागेको मिश्रले बताए। राजनीतिमा लागेपछि अप्ठ्यारो हुन्छ भन्ने लागेको उनले बताए। पार्टी विभाजनलाई 'लडेको' घटनाको रुपमा अर्थ्याउँदै उनले त्यसबाट आफूहरु दुखित भएको बताए।
उनले नवगठित पार्टीलाई एकीकृत राखिरहनुपर्ने बताए। 'यसलाई निर्वाचन आयोगमा दर्ता भएका १५० वटा पार्टीको रुपमा होइन, यो देशको नेतृत्व गर्ने पार्टीको रुपमा उभ्याउँछन् भन्ने विश्वास लिएको छु', उनले भने।
मिश्रले आफ्नो सम्बोधनमा वाद र व्यवस्था नमिलेर नभई नेतृत्वमा दूरदृष्टिवाला, सक्षम व्यक्ति नपुगेर नेपालको विकास नभएको उनले बताए। 'गणतन्त्रको सबैभन्दा ठूलो शत्रु भ्रष्ट र असक्षम गणतन्त्रवादी हुन्', उनले भने।
उनले भ्रष्ट र असक्षम नेताहरुलाई नेतृत्वमा पुर्याएकै कारण देशको अवस्था खराब भएको भन्दै सक्षम नेताहरुलाई नेतृत्वमा पुर्याउनुपर्ने बताए।
प्रगतिशील एजेन्डा बोक्ने पार्टी : मिलन पाण्डे
पार्टीका संयोजक मिलन पाण्डेले आफूहरुको पार्टीले प्रगतिशील एजेन्डा बोक्ने बताएका छन्।
भर्चुअल पार्टी एकता घोषणा कार्यक्रममा उनले पार्टी लोकतान्त्रिक हुने र प्रगतिशील एजेन्डा बोक्ने बताएका हुन्।
'युवा, महिला, मजुदूर लगायतको पार्टी बनाउनेछौं। विदेशमा रहेका नेपालीहरुको हकहित संरक्षण गर्ने पार्टी बनाउनेछौं', भर्चुअल सम्बोधनमा पाण्डेले भने।
उनले विगतमा जानेर वा नजानेर पार्टी विभाजन गरेको बताए। त्यसलाई राजनीतिक दुर्घटनाको रुपमा अर्थ्याउँदै उनले केही समय अलगअलग रहेकोमा माफी समेत मागे।
'हिजोको दिनमा पार्टी विभाजन राजनीतिक दुर्घटना थियो। त्यो जानेर नजानेर भयो। त्यो पार्टी विभाजनको गम्भीर समीक्षा गर्यौं। ५-६ महिना गहिरो चिन्तन गर्यौं। हामीमा रहेका संरचनागत, नीतिगत र व्यवहारिक समस्यामा गहिरो चिन्तन गरेका छौं र ती गल्तीलाई नदोहोर्याउने प्रतिबद्धता गरेका छौं', उनले भने।
उनले आफूहरुले सत्तामा पुग्ने मात्रै होइन, पुगेर डेलिभर गर्ने पार्टीको रुपमा स्थापित गर्दै जाने बताए।
यसअघि २०७४ साउन ११ गते यी दुई दलबीच एकता भएको थियो। तर २०७५ पुस २७ गते दुई पार्टी विभाजन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।