काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले २४सै घण्टा आवश्यक जानकारी उपलब्ध गराउन नेपालमै पहिलो पटक च्याटबोट सञ्चालनमा ल्याएको छ। कम्पनीले आफ्ना बीमित, अभिकर्ता र सरोकालवाला व्यक्ति तथा संघ संस्थालाई सूचना प्रविधिको उच्चतम प्रयोग गरी विश्वका जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवाहरू चुस्त, दुरुस्त र प्रभावकारी सेवा प्रवाह गर्न सहज बनाउन २४सै घण्टा आवश्यक जानकारी उपलब्ध गराउन मंगलबारबाटै आइएमई लाइफ ‘३६०- योर भर्चुअल एसिस्टेन्ट’ नामको च्याटबोट संचालनमा ल्याएको हो।
हाल यो सेवा कम्पनीको वेब साइटमा उपलब्ध रहेको छ भने भविष्यमा कम्पनीको अधिकारीक मोबाइल एप र म्यासेन्जरमा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ। यसबाट मुख्यतः बीमित र अभिकर्ता प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् भने बीमासँग चासो राख्ने, बीमाको बारेमा बुझ्न चाहने, कम्पनीको बारेमा बुझ्न चाहने व्यक्ति तथा संस्थाले समेत यसबाट सेवा प्राप्त गर्न सक्नेछन्।
च्याटबोट सेवामार्फत् बीमितले आफ्नो बीमाशुल्क भुक्तानीसम्बन्धी जानकारी लिनुका साथै बीमाशुल्क भुक्तानी तरिका, इच्छाएको व्यक्ति, मोवाइल नम्बर परिवर्तनको जानकारी लिन सकिने र अनुरोध पठाउन सकिनेछ। यसैगरी दाबी भुक्तानी प्रक्रिया, अभिकर्ता कमिशन, बैंक खाता, प्यान नम्बर, मोबाइल नम्बर अद्यावधिक गर्ने, नयाँ अभिकर्ता बन्ने र अभिकर्ता इजाजतपत्र नवीकरण प्रक्रियासम्मको जानकारी च्याटबोट मार्फत् नै तत्कालै प्राप्त गर्न तथा अनुरोध पठाउन सक्नेछन्।
यो सेवा सञ्चालनमा आएसँगै कम्पनीका बीमित, अभिकर्ता र कम्पनीसँग सरोकार राख्ने सम्पूर्ण व्यक्ति, संस्थाले आफ्नो महत्वपूर्ण समय बचत गरी घर, अफिस वा जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवाअन्तर्गतको जुनसुकै समस्या वा जिज्ञासा च्याटबोटमार्फत् राखी तत्कालै समाधान पाउन सक्नेछन्।
हालको कोरोना भाइरस रोगका कारण जनजीवन प्रभावित भइरहेको यस विषम परिस्थितिमा यो च्याटबोट सेवा ग्राहकहरूमा वरदान सावित हुने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।