काठमाडौं–अर्घाखाँची सिमेन्ट कम्पनीले रुपन्देहीको सियारी गाउँपालिका २ मा स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ।
कम्पनीले करिब एक करोड रुपैँया लागतमा मैनहियामा बनाउन लागेको स्वास्थ्य केन्द्र भवनको कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले सोमबार शिलान्यास गरेका छन्।
निर्माणपश्चात् उक्त भवनमा सियारी गाउँपालिकाले ५ शैंयाको अस्पताल सञ्चालन गर्नेछ। कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको उद्योगका निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए।
‘यस क्षेत्रमा उद्योग सञ्चालन गरिरहँदा रोजगारीसँगै स्थानीय बासिन्दाको समस्या तथा दुःखमा पनि साथ र सहयोग गर्ने हाम्रो उद्देश्य रहेको छ,’ अग्रवालले भने, ‘क्षेत्रमा स्वास्थ्य सेवाको अभाव खड्किएकाले त्यसलाई पूर्ति गर्न स्वास्थ्य केन्द्र स्थापना गर्न लागेका हौं।’ अबको एक वर्षभित्र भवन निर्माण सम्पन्न गरेर सम्बन्धित गाउँपालिकालाई हस्तान्तरण गर्ने कम्पनीको उद्धेश्य छ।
सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले अर्घखाँची सिमेन्टले स्थानीय स्तरमा विभिन्न सहयोग गर्दै आएको बताउँदै स्वास्थ्य केन्द्रको अवधारणा नमुना भएको जानकारी दिए। उनले स्वास्थ्य केन्द्रलाई ५ शैंयाको अस्पताल बनाउँदै यसै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदानगर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।