काठमाडौं- हास्य कलाकार मनोज गजुरेलले आफू चाँडै नै विवाह बन्धनमा बाँधिन लागेको खुलासा गरेका छन्। सोमबार साँझ एपिवान टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम 'तमसोमा ज्योतिर्गमय'मा टीकाराम यात्रीसँग कुराकानी गर्दै गजुरेलले आफू चाँडै विवाह बन्धनमा बाँधिन लागेको बताएका हुन्।
'चाँडै नै। चाँडै नै तपाईंहरूको सल्लाह/सुझाव अनुसार मैले मेरो जीवनमा कोही साथी जोड्दैछु। अथवा हामी जोडिँदैछौं। अहिलेलाई मैले यति मात्रै भनेँ। चाँडै नै,' गजुरेलले भने।
'विवाहका लागि २०७८ सालसम्म कुर्नुपर्दैन नि?' भन्ने प्रश्नको जिज्ञासामा उनले भनेका छन्, 'वर्ष कुर्नुपर्दैन। महिनाभित्रैमा तपाईंले/मैलै/हामीले यो खबर सुन्छौं। त्यसपछि म सार्वजनिक गर्छु/गरिहाल्छु।'
हालै कोरोना संक्रमणमुक्त भएका गजुरेलले कोभिडभन्दा अघिको समयदेखि नै आफूले विवाहको योजना बनाएपनि कोभिडपछिको अवस्थाले विवाह गर्नका लागि थप नजिक्याएको समेत उनले बताए।
तीन वर्षअघि मीना ढकालसँग गजुरेलको सम्बन्धविच्छेद भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।