काठमाडौं- राइड सेयरिङ कम्पनी एटेन्डले आफ्नो कम्पनीमा आबद्ध सबै सवारी चालक (राइडर)को निःशुल्क कोभिड-१९ परीक्षण गराउने भएको छ।
दुईपांग्रे सवारी एवं चार पांग्रे सवारीमा कार, जिप, एम्बुलेन्स, शववाहन, ट्याक्सीजस्ता विविध साधनलाई आफ्नो सेवाको सूचीमा राखेर गत मंगलबारबाट सुरु भएको एटेन्ड एपले आफूसँग आबद्ध हुने सबै चालकको कोभिड परीक्षण गराएर मात्रै सेवामा आबद्ध गराउने भएको हो।
यो नीतिअनुसार बिध ल्याबको सहकार्यमा कम्पनीका राइडरले आइतबारदेखि नै चालकहरुको परीक्षण र एपमा दर्ता गराउन सुरु गर्ने तयारी गरिएको एटेन्ड एपका निर्देशक भीमकान्त भण्डारीले जानकारी दिए।
आफ्ना सेवाग्राहीलाई संक्रमणमुक्त भएको विश्वास दिलाउने एवं सेवामा खटिने राइडरको मनोबल बढोस् भन्ने उद्देश्यले निःशुल्क कोभिड परीक्षण गराउने तयारी गरिएको भण्डारी बताउँछन्। पछि पनि चालकहरुको समयसमयमा यसैगरी निःशुल्क परीक्षण गराइरहने योजना रहेको भण्डारीले बताए।
याे एपमा जोडिन चाहने राइडरहरुले आइतबारदेखि कुपण्डोलस्थित बिध ल्याबमा सवारी साधनसहित गएर आफ्नो कोभिड परीक्षण गराउन सक्नेछन्। एटेन्ड एप प्रयोगकर्ताले प्ले स्टोर वा एप स्टोरमा गएर एटेन्ड डाईभर डाउनलोड गर्नुपर्नेछ। सोही ल्याबको प्राङ्गणमा एटेन्ड एपका आधिकारिक व्यक्तिहरुलाई समेत नयाँ सदस्यताका लागि राख्ने र उनीहरुले नै कोभिड परीक्षण भएपछि एटेन्ड एपमा समेत रजिस्ट्रर गर्ने व्यवस्था मिलाइएको भण्डारी बताउँछन्।
यसरी गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएकाहरुलाई स्वास्थ्य सर्टिफिकेट जारी गरेपश्चात मात्र राइडरले सोही दिनदेखि र पोजिटिभ रिपोर्ट आएका चालकको १४ दिनपछि फेरि परीक्षण गरेर मात्रै एटेन्ड एपमा जोड्ने तयारी रहेको भण्डारीले बताए।
जाडो महिनामा कोरोना परीक्षणको जोखिम बढी हुने भएकोले आफ्नो सञ्जाललाई विश्वास गरेर यात्रा गर्ने यात्रु र चालक दुवैको स्वास्थ्यलाई मध्यनजर गर्दै यस्तो योजना ल्याइएको एप व्यवस्थापन पक्षको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।