काठमाडौं- यति एयरलाइन्सले शनिबारदेखि पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु गरेको छ। एयरलाइन्सले प्रत्येक साताको शनिबार दुई वटा पर्वतीय उडान गर्ने योजनाअनुसार शनिबार बिहान पर्वतीय उडान भरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बार्तौलाले बताए।
अबका प्रत्येक शनिबार नियमित रुपमा दुई वटा पर्वतीय उडान हुने यतीले जानकारी दिएको छ। एयरलाइन्सले सस्तो प्याकेजमा उडान गर्ने भएपछि यात्रुहरुको चाप पनि बढी देखिएको छ। एयरलाइन्सले सगरमाथाको उचाई बराबरको मूल्य ८ हजार ८ सय ४८ रुपैयाँमा एक टिकट किन्दा अर्को सित्तैमा दिने प्याकेज ल्याएको छ।
यस्तै एक जना व्यक्ति मात्रै यात्रा गर्ने हो भने ७ हजार ८ सय ४८ रुपैयाँमा झ्यालको सिट पाउने गरी टिकट उपलब्ध गराइएको पनि उनले बताए। कोभिडको समयमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गरी उडान गरिएको बार्तौलाको भनाइ छ।
शनिबार पर्वतीय उडानमा सहभागी यात्रुहरुले नजिकैबाट हिमालय देख्न पाउँदा खुशी लागेको बताएका छन्। एउटा टिकट किन्दा अर्को सित्तैमा पाउँदा सस्तो पनि भएको र जहाजबाट हिमाल अवलोकन गर्दा निकै आनन्द महसुस भएको यात्रुको अनुभव छ।
शनिबारको पर्वतीय उडानमा गएका ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले सस्तोमा पर्वतीय उडान गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए।
एयरलाइन्सले यात्रुहरूको माग बढ्दै गए उडान संख्या बढाउँदै जाने बताएको छ। कोभिडको कारण थला परेको पर्यटन क्षेत्रलाईमाथि उठाउन र आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले पर्वतीय उडानमा भारी छुट दिइएको एयरलाइन्सले बताएको छ।
यसअघि बुद्ध एयरलाइन्सले पनि गत शनिबारबाट पर्वतीय उडान सेवा सुरु गरेको थियो। बुद्धले पनि एक टिकट किन्दा अर्को सित्तैमा दिने जानकारी दिएको थियो। बुद्धले प्रत्येक शनिबार पर्वतीय उडान गर्न सुरु गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।