काठमाडौं- फ्रान्सेली कार ब्रान्ड सिट्रोन नेपाल आउने निश्चित भएको छ। सिट्रोनका कार नेपाली बजारमा गोल्छा अर्गनाइजेसनअन्तर्गतको सांग्रिला मोटर्सले ल्याउने भएको हो। सिट्रोनको माउ कम्पनी ग्रुप पिएसएले सांग्रिला मोटर्सलाई आधिकारिक बिक्रेता नियुक्त गरेको हो।
आधिकारिक बिक्रेताको सम्झौतामा सांग्रिला मोटर्सको तर्फबाट निर्देशक हेमन्त गोल्छा र पिएसए ग्रुपको तर्फबाट भाइस प्रेसिडेन्ट (सेल्स एण्ड मार्केटिङ एसिया प्यासिफिक) अर्नोड डुचिमिनले हस्ताक्षर गरेका हुन्। सम्झौता केही समयअघि नै गरेको भएपनि कोरोनाका कारण सार्वजनिक नगरिएको कम्पनीले जनाएको छ।
दुई कम्पनीबीचको सम्झौतासँगै सिट्रोनका कार नेपाली बजारमा उपलब्ध हुने भएको छ। कम्पनीले हाल ह्याचब्याक कार, एसयुभी, एमयुभी र मिनिभ्यानलगायत सवारी उत्पादन गर्दै आएको छ। सांग्रिला मोटर्सले नेपाली बजारमा सिट्रोनको एसयुभी २०२१ मा सार्वजनिक गर्नेछ।
कम्पनीले २०२१ को मार्चमा औपचारिक रुपमा एसयुभी कार सार्वजनिक गर्ने तयारी गरेको छ। सुरुवाती चरणमा सांग्रिला मोटर्सले फ्रान्समै बनेको कार ल्याउने छ। त्यसको केही समयपछि भने भारतमा उत्पादित सवारी नेपाल ल्याइने सांग्रिला मोटर्सले जनाएको छ।
सांग्रिला मोटर्सले यसअघि पनि पिएसए ग्रुपअन्तर्गतकै प्युजोका एसयुभी बिक्री गर्दै आएको छ। प्युजोका २००८, ३००८ लगायत एसयुभी नेपाली बजारमा लोकप्रिय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।