काठमाडौं- ई-बिजनेस सम्बन्धी ऐन कानुनको अभाव भैरहेको समयमा मंसिर १९ गते ई-बिजनेस पोलिसी फोरम, २०२० आयोजना हुने भएको छ। डेल्टा ल फर्म तथा इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको संयुक्त आयोजना र इन्नोभेटिभ लिगल सर्भिस तथा नेपाल इन्टरनेट फाउन्डेसनको सह-आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो।
बढ्दो इन्टरनेटको प्रयोग तथा स्मार्ट फोनको वृद्धिले व्यापार अनलाइन केन्द्रित भइरहेको छ। पछिल्लो समयमा कोभिड–१९ को महामारीको प्रभावसँगै बढ्दो विद्युतीय कारोवारलाई मध्यनजर गर्दै यस्तो कार्यक्रम गर्न लागिएको हो।
नेपालमा ई-बिजनेस सम्बन्धी नीति, कानुन, तथा अभ्यासलाई सम्बन्धित सरोकारवालाको सहभागितामा समीक्षा, विश्लेषण गरी दिगो ई-बिजनेसका उपाय केलाउने आयोजकको उद्देश्य रहेको छ।
भर्चुअल माध्यम जुमबाट हुने यो कार्यक्रममा ई-बिजनेस सम्बन्धी नीति, कानून तथा अभ्यासहरुका बारेमा विभिन्न सरोकारवाला पक्षहरु बीच समीक्षा र विश्लेषण हुनेछ।
कार्यक्रममा तीन सय जनाभन्दा धेरैको प्रत्यक्ष सहभागिता हुने अनुमान गरिएको छ। यस कार्यक्रमको इन्डस्ट्री साझेदारको रुपमा प्रभु-पे रहेको छ। साथै फोरमको कम्युनिटी पार्टनरहरूमा क्याफे–डि–लिगल र जुरिष्ट एण्ड ल रहेका छन् ।
सूचना प्रविधिको विकासले अर्थतन्त्रमा पारेको प्रभाव, त्यसको सदुपयोग र विकासका लागि सरोकारवालाहरुको सहकार्यमा ई-बिजनेसको क्षेत्रका विभिन्न विषयमा छलफल गरी सम्बन्धित निकायलाई यस सम्बन्धी नीति तथा कानूनको क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले फोरम आयोजना गर्न लागिएको नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए।
फोरममा नेपालमा ई-व्यवसायको नीति, कानुन तथा अभ्यासको बारेमा छलफल हुनेछ। जसमध्ये नेपालमा ई–कमर्स सम्बन्धि नीतिगत व्यवस्था, अवसर तथा चुनैती, दिगोपन, प्रतिलिपि अधिकार र उपभोक्ता संरक्षण जस्ता विषयहरु प्रमुख छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।