काठमाडौं- सरकारले सवारीसाधनलाई प्रविधिमैत्री बनाउने भन्दै उच्च प्रविधिको इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय गर्यो। सोहीअनुसार आम नागरिकको विरोधदेखि अदालतसम्म मुद्दा समेत खेपेको इम्बोस्ड नम्बर प्लेट जडान पुनः सुरु भइसकेको छ।
२०७४ फागुनमा परेको इम्बोस्ड नम्बर प्लेटसम्बन्धी मुद्दा सर्वोच्च अदालतले २०७६ मंसिर २७ मा खारेज गरेको थियो। त्यसको केही महिनापछि प्रदेशअनुसार इम्बोस्ड नम्बर प्लेट जडान पुनः सुरु भएको छ। तर इम्बोस्डको ठेक्का पाएको कम्पनीले हालसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्ने गेट आरएफआइडी निर्माण गरेको छैन।
यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर जडानका लागि अमेरिकी र बंगालादेशको संयुक्त कम्पनी डेकाटोर टाइगरसँग २०७३ वैशाखमा सम्झौता गरेको थियो। उक्त सम्झौताअनुसार ५ वर्षभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान र प्लट रिड गर्न सक्ने १० वटा गेट बनाउने भनिएको थियो।
यातायात व्यवस्था विभागले भने पहिलो चरणमा बागमती प्रदेशमा दर्ता भएका सरकारी र निजी सवारी साधनबाट इम्बोस्ड नम्बर प्लेट जडान थालेको थियो। तर हाल भने सबै प्रकारका सवारीसाधनले इम्बोस्ड नम्बर प्लेट जडानका लागि आवेदन दिन सक्छन्।
इम्बोस्ड नम्बर प्लेट जडान रोकिएसँगै आरएफआइडी ट्र्याकिङ गेट निर्माणको काम समेत रोकिएको थियो। तर हाल भने आरएफआइडी गेट निर्माणको काम अघि बढेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।
‘आरएफआइडी गेट स्थायी संरचना भएकाले त्यो निर्माण गर्ने स्थानको विषयमा सडक विभागसँग छलफल भइरहेको छ,’ उनले भने, ‘सडक विस्तार गर्दा समस्या नहुने गरि त्यस्तो गेट निर्माण गर्नुपर्ने भएकाले सरोकारवाला निकायसँग छलफलको निचोडपछि त्यो निर्माण सुरु हुन्छ।’
आरएफआइडी गेटको काम सवारी साधनमा जडान गरिएको प्लेटमा रहेको चिप्सलाई ट्र्याकिङ गर्दै विवरण हेर्न मिल्ने गेट हो। उक्त गेट विभागको केन्द्रीय सरवरमा जोडिने हुनाले विभागबाट नै गाडीको अवस्था हेर्न सकिन्छ। उपत्यका प्रवेश गर्ने पाँच ठाउँमा र उपत्यका बाहिर पाँच ठाउँमा यस्तो गेट निर्माण गर्ने सम्झौतामा उल्लेख छ।
एउटा सवारीसाधनमा अगाडि र पछाडि दुई ठाउँमा इम्बोस्ड नम्बर प्लेट जडान गरिन्छ। त्यही प्लेटमा प्रयोग भएको स्टिकरलाई ‘आरएफआइडी स्टिकर’ भनिन्छ। यही स्टिकरलाई आरएफआइडी ट्र्याकिङ गेटमा प्रयोग भएको ‘रेडियो फ्रिक्वेन्सी आइडन्टिफिकेसन डिभाइस’ले क्याप्चर गरेर सम्पूर्ण विवरण हेर्न मिल्छ।
यसका माध्यमबाट सवारीसाधन कहाँ बनेको, सवारीधनी, प्रयोग गर्ने व्यक्ति, कुन स्थानमा पुगेको छजस्ता सबै तथ्य यातायात व्यवस्था विभाग, सवारी कार्यालय तथा ट्राफिक कक्षमा बसेर थाहा पाउन सकिन्छ।
यसबाट सवारी चोरी पनि पूर्णरूपमा नियन्त्रणमा आउने विभागको दाबी छ। त्यस्तै सवारीसाधनले नियमित कर तिरे वा नतिरेको समेत हेर्न सकिने भएकाले कर नतिर्नेलाई कारको दायरमा समेत ल्याउन सकिन्छ।
के हो इम्बोस्ड नम्बर?
इम्बोस्ड नम्बर एक प्रकारको डिजिटल नम्बर प्लेट हो। विभागले यसलाई उच्च प्रविधिको नम्बर प्लेट भनेर परिभाषा गरेको छ।
मोटरसाइकलको पछाडि र अन्य सवारीको अगाडि सिसामा नम्बर प्लेट ‘सिंगल स्क्रोल लक’ प्रणालीमा जडान गरिन्छ।
इम्बोस्ड नम्बर प्लेटलाई कसैले पनि निकाल्न सक्दैन। नम्बर प्लेटमा रहेको चिप्ससहितको स्टिकरलाई आरएफआईडी भनिन्छ।
सोही स्टिकरमा विभागले सवारीधनीको विवरणसहित साधन बनेको स्थान, इन्जिन नम्बर, सवारीले कर तिरेको मिति, ठाउँलगायत विवरण राखेको हुन्छ।
यातायात क्षेत्रलाई प्रविभिमैत्री बनाउने नीतिअनुसार सवारी चालक अनुमतिपत्रलाई कागजबाट स्मार्ट बनाइएको छ। त्यस्तै सवारीसाधनको नम्बर प्लेटलाई सामान्य इनामेलले लेखिएकोलाई विस्थापित गर्दै धातुको पातालाई प्रविधिको सहयोगले उठाएर नम्बर लेखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।