काठमाडौं- नेपाली राइड सेयर बजारमा विभिन्न सुविधाका साथ ‘एटेन्ड’ एपलिकेसनले आफ्नो सेवाको सुरुवात गरेको छ। हाल बजारमा उपलब्ध अन्य राइड सेयर एपभन्दा उत्साहजनक र आकर्षक सुविधाका साथ आएको यस एपले निजी सवारीसाधन नभएका यात्रुहरुको समस्याको हल गर्ने कम्पनीले बताएको छ।
साथै नेपालभर जहाँबाट पनि उक्त सेवा लिनसकिने भएकाले यस एपले यात्रुमाझ लोकप्रियता कमाउने विश्वास कम्पनीले लिएको छ।
एप सार्वजनिक गर्दै यसबारे जानकारी दिने क्रममा एटेन्ड प्रा.लि.का निर्देशक भिमकान्त भण्डारीले भने, ‘यो अहिले नेपालमा चलिरहेको सामान्य राइड सेयरभन्दा भिन्न रहेको छ। मोडल त हाम्रो पनि राइड सेयर नै हो तर हाम्रो सेवा र सुविधा अरूभन्दा भिन्न छ। हामीले मोटरसाइकल, एम्बुलेन्स, शववहान, ट्याक्सी, कार, जिप, मालबहाक ट्रकदेखि हेलिकप्टरसम्मको सेवा दिन्छौं, साथै यसमा हेल्थ सर्भिस अन्तर्गत घरमै औषधि पुर्याउने, डक्टर, नर्स पठाउने र विभिन्न ल्याबसम्बन्धी सम्पूर्ण कार्यका लागि ल्याब टेक्निसियन घरमै पठाउने काम पनि गर्नेछौँ।’
यसैगरि कम्पनीले प्याकेज सुविधाको अवधारणालाई समेत अघि सारेको छ, जसमा अग्रिम बुकिङ् सेवाका साथै चालकसहित वा चालकबिनाको गाडी लिन र इन्धनसहित वा आफैंले इन्धन हाल्न पाउने विकल्प समेत कम्पनीले राखेको छ। साथै दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै र हाल चलिरहेको बीमासम्बन्धी विषय सम्बोधन गर्न कम्पनीसँग आवद्ध सम्पूर्ण गाडी तथा मोटरसाइकलमा यात्रारत चालक र यात्रुको तेश्रो पक्षीय बीमा गरिदिने समेत कम्पनीले जनाएको छ।
त्यस्तै सेवाको उपयोग गरेछि यात्रुको सहजताका लागि नगद बाहेक जुनसुकै बैंकको एटिएमबाट पनि पैसा तिर्न मिल्ने प्रणाली विकास गरेको कम्पनीले उल्लेख गरेको छ। त्यस्तै कम्पनीले सेवा उपलब्ध गराएबापत १० प्रतिशत कमिसन लिने घोषणा गरेको छ। एम्बुलेन्स र शववाहनबाट भने कुनै कमिसन नलिने कम्पनीले जनाएको छ।
सुरक्षाको दृष्टिकोणले समेत यो एप विश्वासिलो रहेको र यसमा रहेको इमर्जेन्सी बटन दबाएमा नम्बर सेट गरिएको आफन्तको मोबाइलमा म्यासेज र प्रहरीलाई समेत फोन जाने प्रणालीको सुविधा रहेको उल्लेख गरिएको छ। सुरुवाती अवस्थामा रहेता पनि हाल कम्पनीमा करिब ५ सय गाडी आवद्ध भइसकेको र ट्याक्सी र बाइकलाई क्रमशः आबद्ध गराउँदै लैजाने कम्पनीले जनाएको छ। यो सेवा मोबाइल एपबाट नै बुक गर्न मिल्ने कम्पनीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।