काठमाडौं- एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले वार्षिक तलब भत्ता तथा बोनस बापत २ करोड ५० लाख रुपैयाँ बुझेका छन्।
एनआएसी एसियालाई निक्षेप, कर्जा लगानी, नाफा, शाखा सञ्जालका हिसाबले पहिलो नम्बरमा ल्याउन प्रमुख योगदानकर्ता न्यौपानेले भत्तासहित कुल वार्षिक तलब बापत एक करोड ८० लाख रुपैयाँ बुझेका हुन्। त्यस्तै उनले कर्मचारी बोनस बापत ७० लाख ५९ हजार रुपैयाँ प्राप्त गरेका हुन्।
तलब भत्ता बाहेक उनलाई एक सावारी साधनको सुविधा दिइएको छ। सवारी साधनमा लाग्ने ड्राइभर, बीमा, कर, मर्मत सम्भार लगायतका खर्च बैंकले प्रदान गरेको छ। साथै उनले टेलिफोन खर्च पनि प्राप्त गर्दछन्।
गत आर्थिक वर्ष २०७६/७७ मा प्रमुख कार्यकारी अधिकृतलाई प्रदान गरिएको तलब सुविधासहित कूल कर्मचारी खर्च २ अर्ब ९१ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ।
वार्षिक लेखापरीक्षण प्रतिवदेन सार्वजनिक गर्ने क्रममा गत वर्ष बैंकका कर्मचारीहरुले नाफाबाट ४८ करोड ८५ लाख रुपैयाँ बुझेका छन्। बैंकले कर्मचारीलाई तलब मात्रै एक अर्ब १९ करोड रुपैयाँ भुक्तानी गरेको छ।
तलब बाहेक कर्मचारीहरुले बोनस, भत्ता, सञ्चयकोष, पोसाक, तालिम तथा विकास खर्च, विदाको नगद भुक्तानी, औषधीपचार, बिमा, कर्मचारी प्रोत्साहन खर्च नगद सेयरमा आधारित भुक्तानी पन्सन भुक्तानी सहित अन्य विविध सुविधा पाउने बैंकले जनाएको छ।
त्यस्तै बैंकका सञ्चालक समितिका पदाधिकारीहरुले पनि गत वर्ष बैठक भत्ता ६८ लाख ४८ हजार रुपैयाँ बुझेका छन्। सञ्चालक समितिका अध्यक्षले प्रति बैठक भत्ता २० प्राप्त गर्छन् भने सदस्य सञ्चालकले १६ हजार रुपैयाँ प्राप्त गर्छन्। बैंठक भत्ता बाहेक सञ्चाकहरुले पत्रपत्रिका तथा टेलिफोन मोबाइल खर्च प्राप्त गर्छन्। यस बापत बैंकले उनिहरुलाई गत वर्ष १४ लाख ८९ हजार रुपैयाँ खर्च भएको छ।
बैंकले मंसिर २१ गते २३ औ वार्षिक साधारणसभा डाकेको छ। सञ्चालक तथा उच्च व्यवस्थापन सहित सेयरधनीहरुले गत वर्षको मुनाफाबाट १९ प्रतिशत बोनस सेयर प्राप्त गर्ने छन्। बैंकले साधारणसभामा एक अर्ब ८४ करोड रुपैयाँ बोनस वितरण गर्ने विशेष प्रस्ताव साधारणसभामा लैजाँदै छ। बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। बोनस सेयर वितरण पछि बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ पुग्ने छ।
लेखापरीक्षण प्रतिवेदन अनुसार बैंकले गत वर्ष तीन अर्ब ९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ। बैंकको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ रहेको छ। बैंकले उक्त नाफाबाट बोनस सेयरमा लाग्ने कर प्रयोजन सहित २० प्रतिशत लाभांस वितरण गरे पनि बाँकी रकम जगेडामा जानेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।