काठमाडौं– नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच मुलुकका ७७ वटै जिल्लामा पुगेको छ। मोबाइल सेवाको स्वभाविक विशेषताअनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्था आदिले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा निरन्तर एकरुपता नहुन सक्ने बताउँदै टेलिकमले यसका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटको कारणले पनि गुणस्तरमा फरक पर्ने हुनाले ग्राहकहरुमा फोरजी मोबाइल सेटको प्रयोगका सम्बन्धमा थप जानकारीको आवश्यकता महशुस गरी यस्तो जानकारी तयार पारेको उल्लेख गरेको छ।
हाल कम्पनीको फोरजी सेवा १८०० मेगाहर्ज (ब्याण्ड ३) र ८०० मेगाहर्ज (ब्याण्ड २०) मा उपलब्ध छ। तुलनात्मक रुपले कम जनघनत्व र फराकिलो भूगोल भएका क्षेत्रमा ८०० मेगाहर्ज र बढी जनघनत्व भएका क्षेत्रमा १८०० मेगाहर्ज ब्याण्डमार्फत् फोरजी सेवा उपलब्ध भइरहेको छ। यसको अर्थ, फोरजी मोबाइल सेवाका कुनैपनि प्रयोगकर्ता एउटा ब्याण्डको फैलावट क्षेत्रबाट अर्को ब्याण्डको प्रभाव क्षेत्रमा प्रवेश गर्दा कम्पनीको नेटवर्कको पहुँचका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटले ८०० मेगाहर्ज र १८०० मेगाहर्ज दुवै ब्याण्ड उपयोग गर्न सक्ने भएमा थप गुणस्तरीय फोरजी सेवा उपयोग गर्न सकिने कम्पनीले जनाएको छ।
नेपाली बजारमा उपलब्ध अधिकांश मोबाइल सेटले १८०० मेगाहर्ज ब्याण्डको फोरजी सेवालाई सहजै उपयोगमा ल्याउन सक्ने भएपनि केही मोबाइल सेटले ८०० मेगाहर्ज ब्याण्डबाट प्रसारित फोरजी सेवालाई ग्रहण नगर्ने पाइएको छ। दुवै ब्याण्डमा चल्ने मोबाइल सेटको अभावमा फोरजी सेवाबाट अधिकतम फाइदा लिन नसकिने हुन्छ। यस्तो समस्या आएपछि कम्पनीको फोरजी सेवाको गुणस्तर राम्रो नभएको भ्रम ग्राहकवर्गलाई हुने गरेको पाइएको टेलिकमले उल्लेख गरेको छ।
यो समस्या हल गर्न फोरजी सेवाका ग्राहकवर्गले आफ्नो मोबाइल सेटको बक्समा उपलब्ध प्राविधिक विवरण (स्पेसिफिकेशन) हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन सकिन्छ।
यसका अतिरिक्त, नेपाल टेलिकमको फोरजी सेवा प्रयोगकर्ताहरुले नयाँ मोबाइल सेट खरिद गर्नु अघि १८०० मेगाहर्ज र ८०० मेगाहर्ज ब्याण्डका बारेमा जानकारी राखी दुवै ब्याण्डबाट फोरजी सेवा चलाउन सकिने मोबाइल सेट बिक्रेताबाटै सुनिश्चित गराई खरिद गर्न तथा प्रविधिको विकासले ल्याएका अवसरहरुको उचित प्रयोग गर्नु हुन ग्राहकहरुलाई कम्पनीले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।