काठमाडौं- वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले एकदिन ५ हजारभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको छ। आइतबार देशका झन्डै एक दर्जन गन्तव्यमा ५ हजार ५० जना यात्रुलाई सेवा दिइएको बुद्ध एयरले जानकारी दिएको छ। लकडाउन तथा निषेधाज्ञापछि बुद्धले एकैदिन यति धेरै यात्रुलाई सेवा दिएको यो पहिलो पटक हो।
बुद्धले ९० उडान तथा अवतरणबाट ती यात्रुलाई उडान सेवा दिएको हो। निजी हवाइसेवा प्रदायकमध्ये बुद्ध एयर नेपालकै सबैभन्दा ठूलो कम्पनी हो।
१३ जहाज भएको बुद्धले भद्रपुर, विराटनगर, तुम्लिङटार, सिमर, जनकपुर, राजविराज, भैरहवा, चितवनमा उडान सेवा प्रवाह गर्दै आएको छ। यसका साथै पोखरा, नेपालगञ्ज, धनगढी र माउन्टेन फ्लाइटमा पनि उडान सेवा प्रदान गर्दै आएको छ। माउन्टेनमा भने शनिबार मात्र उडान सेवा दिइने कम्पनीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।