काटमाडौं- सरकारले कतार सरकारले दिएका ३ वटा मर्सिडिज बेन्च कार उपहार स्वीकार गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।
यसअघि पनि कतारले नेपाललाई ६ वटा मर्सिडिज बेन्च गाडी उपहार दिएको थियो। कतारबाट प्राप्त ती कार सरकारी कामकाजमा प्रयोग गरिने मन्त्री गुरुङको भनाइ छ।
सोही बैठकले जिल्ला समन्वय समिति महासंघको कार्यालय संचालन गर्नका लागि १५ लाख दिनेसमेत निर्णय गरेको छ। यस्तै बैठकले सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ समेत स्वीकृत गरेको छ।
यस्तै सरकारले आधिकारिक ट्रेड युनियनको निर्वाचनसमेत स्थगित गरेको छ। दोस्रो जनआन्दोलन र मधेश आन्दोलन र द्वन्द्वका क्रममा घाइतेको निःशुल्क उपचार गर्ने समेत निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।