मुम्बई- बलिउड अभिनेत्री कंगना रनावतको पक्षमा बम्बई हाइकोर्टले फैसला सुनाएको छ। रनावत र बृहतमुम्बई नगर निगम (बीएमसी)बीचको विवादमाथि बम्बई हाइकोर्टले शुक्रबार कंगनाका पक्षमा फैसला गरेको हो।
कंगनाको अफिक तोडफोड गरेको आरोपमा कंगनाले हालेको मुद्दामा बिएमसीको काम गलत भएको फैसला गरेको हो।
हाइकोर्टले बिएमसीले गलत नियतका साथ कंगनाको अफिसमा डोजर चलाएको ठहर गरेको छ। अदालतले कुनै पनि नागरिकका विरुद्धशक्तिको दुरुपयोग गर्न स्वीकृत दिन नसकिने भनेको छ।
अदालतले कंगनालाई पनि सार्वजनिक मञ्चमा बोल्दा संयमता अपनाउन पनि भनेको छ। गत सेप्टेम्बर ९ मा कंगना रनावतको मुम्बईस्थित अफिसमा बीएमसीले डोजर चलाएको थियो। कंगनाले उक्त बिल्डिङमा गैरकानुनी तवरबाट संरचना बनाएको भन्दै बिएमसीले भत्काएको थियो।
तर कंगनाले भने आफूले कुनै गैरकानुनी संरचना नबनाएको र बिएमसीले पूर्वाग्रहका साथ आफ्नो घरमा डोजर चलाएको भन्दै अदालत गएकी थिइन्।
कंगनाले मुम्बईलाई पाकिस्तान नियन्त्रित कस्मिरसँग तुलना गरेपछि महाराष्ट्रमा सरकारको नेतृत्व गरिरहेको शिव सेना र कंगनाबीच तनाव बढेको थियो।
बिएमसीविरुद्ध अदालत पुगेकी कंगनाले दुई करोड रुपैयाँ क्षतिपूर्तिको माग समेत गरेकी थिइन्। बीएमसीको तोडफोडबाट भएको क्षति मूल्यांकन गर्न अदालतले मूल्यांकनकर्ता समेत तोकेको छ। अदालतको फैसलापछि कंगनाले लोकतन्त्रको जित भएको बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।