काठमाडौं–शेयर बजारले इतिहासकै सर्वाधिक उचाइ कायम गरेको छ। तीन वर्ष लगाएर घटेको शेयर बजारले पछिल्लो एक वर्षमै यसअघिका सूचकलाई उछिनेर नयाँ उचाइ कायम गरेको हो।
बिहीबार बजार खुलेदेखि नै सुधारिएको शेयर बजार १९०० अंक कटेको छ। यसअघि २०७३ साउन १२ गते इतिहासकै सर्वाधिक १८८१ अंक पुगेको थियो। सर्वाधिक उचाइमा पुगेर ११०२ अंकसम्म तल झरेको शेयर बजार एक वर्षकै अवधिमा रिकभर भएर १९ सय अंक नाघेको हो।
यी हुन बजार सुधार हुनुका प्रमुख कारण
नेपालको शेयर बजारमा चक्रीय प्रभाव पर्ने गरेको पाइन्छ। नेपालको शेयर बजारमा ४-४ वर्षको चक्र चल्ने गर्छ। चार वर्ष लगातार सुधार हुने र चार वर्ष लगातार गिरावट हुने ट्रेण्ड रहेको छ। यसले लगानीकर्ताको मनोविज्ञानमा प्रभाव पारिरहेको हुन्छ। प्राविधिक विश्लेषकहरुले चार वर्षको वियरिस चक्र अन्त्य भएको र अबको चार वर्ष बुलिस च्रक्रमा अगाडि बढ्ने विश्लेषण गरिरहेका छन्।
त्यहीअनुरुप शेयर बजारमा पछिल्लो समय लगातार सुधार भइरहेको छ। अहिलेको सुधारको उच्चतम विन्दु २०२४ मा पुगेर टुङ्गिने र त्यसपछि मात्रै वियरिस ट्रेण्डमा बजार जाने भएकाले अहिले लगानी गर्ने उपयुक्त समय भएको लगानीकर्ताको बुझाइ छ। यसले गर्दा ‘कर्नरिङ’ गरेर बढाइएका कम्पनीको शेयरमा पनि लगानीकर्ताको आकर्षण बढी छ।
चार वर्ष उच्चतम विन्दुमा रहेको शेयर बजार बियरिस ट्रेण्डमा झर्नुमा राजनीतिक कारण पनि थियो। शेयर बजारका लगानीकर्ताले कम्युनिष्ट सरकारभन्दा प्रजातान्त्रिक सरकारलाई बढी रुचाउछन्। तीन वर्ष अगाडिको संघीय चुनाव र साढे तीन वर्ष अगाडिको स्थानीय निकायको चुनावमा अहिलेको नेकपाको दबदबा थियो। नेपाली काङ्ग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीकै पालामा यस अगाडिको नेप्से सूचक उच्च थियो। तर माओवादीसँग गठबन्धनसहित नेकपाको उदय र ओलीकै कार्यकालमा नेप्से सूचक सबैभन्दा तल्लो विन्दु ११०२ अंकमा झर्यो। पछिल्लो समय नेकपाको आन्तरिक विवादसँगै दोस्रो बजारमा सुधार भइरहेको छ।
नेपालको शेयर बजारलाई प्रभाव पार्ने अर्को प्रमुख कारण बैंक व्याजदर हो। यसभन्दा अगाडिको बुलिस ट्रेण्डताका कर्जा तथा निक्षेपको व्याजदर एकल अंकमा थियो। बैंकमा निक्षेप जम्मा गर्नुभन्दा अन्य क्षेत्रमा गरिएको लगानीको प्रतिफल उच्च हुने भएकाले निक्षेपकर्ताको ध्यान शेयर बजारमा पर्दै आएको छ। व्याज सस्तो हुनुको प्रमुख कारण बैंकहरुले लगानी गर्न नसकेर हो। कर्जाको माग नहुनेबित्तिकै बैंकहरुले निक्षेपको व्याजदर घटाउछन् र अन्य क्षेत्रमा कर्जा विस्तार हुन्छ। यसै क्रममा बैंकको पैसा शेयर बजारमा प्रवेश हुन्छ। कोभिड–१९ का कारण बैंकहरुले नयाँ नयाँ क्षेत्रमा कर्जा लगानी गर्न सकिरहेका छैनन्। बैंकहरुले पनि शेयर कर्जा दिइरहेका छन्।
शेयर बजार बढ्नुको अर्को कारण ठूला लगानीकर्ताको कर्नरिङ पनि हो। थोरै शेयर पुँजी भएका कम्पनीहरुमा कर्नरिङ गरेर बजार बढाइरहेका छन्। सस्तो मूल्यका कम्पनीमा केही ठूला लगानीकर्ताहरु मिल्ने र त्यसको मूल्य बढाउने काम भइरहेको छ। केही कम्पनीमा लगातार सकारात्मक सर्किट लागेको देखेपछि अन्य कम्पनीमा पनि लगानीकर्ताहरुको आकर्षण बढ्छ। यसै क्रममा हल्लै हल्लाले बजार सुधार हुन थालेको हो। सुरुमा विशाल बजार, साल्ट ट्रेडिङ, हिमालयन डिष्ट्रिलरी, शिवम सिमेन्टजस्ता कम्पनीको मूल्य लगातार बढाइयो। बजार सुधार हुन थाल्यो भन्ने मनोविज्ञानपछि विस्तारै अन्य कम्पनीको मूल्य सुधार हुने क्रममा पछिल्ला दिनमा बाणिज्य बैंकको शेयर पनि बढ्न थालेको छ।
बाणिज्य बैंकको सूचकमा सुधार नभइकन नेप्से सूचक यस अगाडिको उच्चतम विन्दु हाराहारीमा पुग्न लागेको छ। यसको प्रमुख कारण वाणिज्य बैंकको बजार हिस्सा ४६ प्रतिशतमा सीमित भएको छ। बैंक तथा वित्तीय संस्थाको शेयर पुँजी तथा ऋणपत्रसहित जम्मा ५० प्रतिशत हाराहारीमा रहेको छ। यसबाहेक दोस्रो बजारमा सूचीकृत हुने कम्पनीको सर्वसाधारण शेयर पुँजी थोरैमात्र छ। यस्ता कम्पनीमा कर्नरिङ गरेर एक महिनामै शेयर बजार ५ सय अंकले सुधार भएको छ। यसरी बजार सुधार हुँदा वाणिज्य बैंकको योगदानविना नै नेप्से सूचक अत्याधिक देखिएको हो।
दोस्रो बजारको सुधार केही हदसम्म हल्लाले पनि परिचालन भएको हुन्छ। सामाजिक सञ्जालमार्फत् विभिन्न समूहे ले बजार सुधार हुने हल्ला चलाउने गरेका छन्। कम्पनी विशेषलाई लिएर समेत सामाजिक सञ्जाल भाइबर, फेसबुक च्याट ग्रुपमा चर्चा हुने गरेको छ। यसले बजार सुधार गराउन थप बल पुर्याइरहेको छ।
यति छिट्टै बजार सुधार हुनुमा अनलाइनको पनि ठूलो योगदान रहेको छ। कोभिड–१९ का कारण हिँडडुल तथा चहलपहल कम भए पनि अनलाइनका कारण कारोबार बढिरहेको छ। अनलाइन प्रणालीका कारण कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भइसकेको छ। आइतबार अहिलेसम्मकै धेरै ६ अर्बभन्दा माथिको कारोबार भएको थियो। पछिल्ला दिनमा दैनिक औसत कारोबार ५ अर्बभन्दा माथि हुने गरेको छ। सीमित ब्रोकरको हातमा रहेको शेयर बजार हजारौ लगानीकर्ताको हात–हातमा पुगेको छ। बजार सुधार गर्नुमा सबैभन्दा धेरै योगदान अनलाइन प्रणालीको विकासले भएको बजार विश्लेषक प्रकाश तिवारी बताउछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।