प्रतीकात्मक तस्बिर काठमाडौं- तीन वटा ट्रेड युनियनले अनौपचारिक र स्वरोजगार क्षेत्रलाई समेट्ने गरी सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न माग गरेका छन्।सामाजिक सुरक्षा दिवसको अवसर पारेर नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस र अखिल नेपाल ट्रेड युनियन महासंघले सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न माग गरेका हुन्।
रोजगारीको सुरक्षाका लागि सामाजिक सुरक्षा कार्यविधिले नसमेटेको बेरोजगारीमा योजनालाई तत्काल सुरु गर्न समेत ट्रेड युनियनले माग गरेका छन्। योगदानकर्ताको आश्रित परिवारलाई समेट्ने गरी स्वास्थ्य तथा उपचार सुविधामा परिमार्जन गर्न माग गरिएको नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले बताए।
अवकाशपछिको स्वास्थ्य सुरक्षा समेत समेट्ने गरी कार्यक्रम विस्तार गर्न पनि माग गरिएको उनले उल्लेख गरे। सामाजिक सुरक्षा कोषमा उपदान वा अवकाश कोषकै रुपमा स्वेच्छिक रुपले तोकिएभन्दा बढी रकम जम्मा गर्ने व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गरिएको श्रेष्ठको भनाइ छ।
ट्रेड युनियनहरुले सामाजिक सुरक्षा कार्यक्रमको सचेतनाका लागि नेपाल सरकार, रोजगारदाता संघ र ट्रेड युनियन महासंघहरुले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने, संचयकोष तथा उपदान व्वस्थापन गर्न योगदानमा आधारित सामाजिक सुरक्षा ऐनसाग बाझिएका ऐन नियमहरु परिमार्जन गर्नुपर्ने माग पनि छ।
हालसम्म करिब १३ हजार प्रतिष्ठानका १ लाख ७९ हजार ३ सय ४० श्रमिक कर्मचारी सामाजिक सुरक्षा कोषमा सूचीकृत भएपनि अझै धेरै क्षेत्रलाई यसले आकर्षण गर्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।