काठमाडौं- अनलाइन ट्याक्सी बुकिङ एप ट्याक्सीमाण्डूले सञ्चालनको एक वर्ष पुरा गरेको अवसरमा विभिन्न अफर ल्याएको छ। एक वर्ष पुरा गरेसँगै ट्याक्सीमाण्डूले आफ्ना सेवासुविधालाई थप व्यवस्थित र विस्तार गर्ने प्रतिबद्धतासहित मंसिर महिनाभरका लागि केही आकर्षक छुट सहितका स्किमहरु ल्याएको हो।
ट्याक्सीमाण्डू प्रालिले ल्याएका स्किमहरु ट्याक्सी चालक तथा यात्रुको फाइदामा लक्षित छन्। जसमध्ये ट्याक्सी चालकहरुले मंसिर महिनाभर ० प्रतिशत कमिसनमा एपमार्फत् यात्रुलाई सेवा दिन पाउनेछन्। यो महिनाभर ट्याक्सी चालकले एप प्रयोग गरेवापत् ट्याक्सीमाण्डूलाई कुनै पनि कमिसन दिनुपर्ने छैन।
त्यस्तै एपको प्रयोग गरेर ट्याक्सी बुक गर्ने यात्रुले प्रत्येक राइडमा ५० रुपैयाँ छुट पाउनेछन्। यसबाहेक ट्याक्सीमाण्डूले रिफर एण्ड अर्नको स्किम पनि ल्याएको छ। यो स्किम अन्तर्गत ट्याक्सीमाण्डू एप डाउनलोड गरेकाहरुले अरुलाई एपमार्फत डाउनलोड गर्न रिफर गर्नुपर्नेछ। एप डाउनलोड गर्न रिफर गर्ने हरेकले प्रत्येक रिफरमा ५० रुपैयाँ पाउनेछन्।
त्यस्तै मंसिर महिनाभर ट्याक्सीमाण्डू एपमार्फत १ सय वटा टिप गर्ने ट्याक्सी चालककले १ हजार रुपैयाँ बोनस पाउनेछन्। यसबाहेक ट्याक्सीमाण्डूले आफ्नो एपमा आवद्ध चालक तथा सेवाग्राही प्रति थप जिम्मेवार बन्दै कोभिड १९ को संक्रमण फैलन नदिन सचेत बनेको छ।
ट्याक्सी चालकहरुलाई यात्रुलाई कसरी सुरक्षित यात्रा गराउने भनेर समय समयमा विभिन्न चेतनामूलक सन्देश प्रवाह गर्नुका साथै आफूसँग आवद्ध सबै चालकलाई समय समय समन्वय गरी काउन्सिलिङ पनि गर्दै आइरहेको कम्पनीले जनाएको छ। त्यसैगरी ट्याक्सीमाण्डू एप प्रयोग गरेर सेवा दिइरहेका ट्याक्सीहरुमा कोभिड-१९ बाट जोगिन विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले बनाएको मापदण्डको पूर्णरुपमा पालना गरेका छन्।
स्थापनाको एक वर्षमै ट्याक्सीमाण्डू एपमा २ हजारभन्दा बढी ट्याक्सी चालक आवद्ध भई यात्रुलाई सेवा दिइरहेका छन्। यसलाई अझै विस्तार गर्दै र व्यवस्थित गर्दै लैजाने प्रतिबद्धता ट्याक्सीमाण्डू प्रालिका प्रवन्ध निर्देशक अर्जुन केसीले जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।