काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम समेटिएको गीत सार्वजनिक गरेको छ। सवारी चलाउँदा ध्यान दिनुपर्ने २५ नियम समेटेर गीत र भिडियो तयार गरिएको महाशाखाले जानकारी दिएको छ।
काठमाडौँ उपत्यकाको सवारी व्यवस्थालाई थप सुरक्षित, व्यवस्थित एव प्रभावकारी बनाउने अभियान अन्तर्गत गीत सार्वजनिक गरिएको हो। महाशाखाले ट्राफिक नियम र सडक सुरक्षा शिक्षालाई प्राथमिकतामा राख्दै आएको छ।
हाल सार्वजनिक गीतमा एलिना चौहान र सरोज ओलीले स्वर दिएका छन्। बाबुराम दाहालको रचनामा तयार भएको गीतमा जुगल डंगोलको म्युजिक छ। मेट्रो ट्राफिक एफएमबाट सार्वजनिक भएको गीतको म्युजिक भिडियो प्रकाश भट्टको निर्देशनमा तयार भएको हो।
गीतसंगीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा आम सडक प्रयोगकर्ताले सरल रुपमा सम्झिने, ग्रहण गर्ने र सजिलै पालना गर्ने हुनाले महाशाखाले गीतमा ट्राफिक नियम समावेश गरेको हो। व्यवहारिक रुपमा प्रयोग हुने २५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्य भिडियो रिलिज गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए।
सिंहदरवार पश्चिम गेटअघि सुटिङ गरिएको भिडियोमा ट्राफिक ड्रेसमा रहेका प्रहरीहरू नृत्य गरिरहेको देख्न सकिन्छ। यस गीतमा ट्राफिक संकेतको पालना गर्न, मादक पदार्थ सेवन गरि सवारी नचलाउन, हेल्मेट र सिट बेल्टको प्रयोग गर्न, लेन अनुशासनको पालना गर्न, जथाभावी ओभरटेक नगर्न, जेब्रा क्रसिङ्ग र आकाशेपुलको प्रयोग लगायतका ट्राफिक नियम समेटिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।