काठमाडौं–हुम्लाको नाम्खा गाउँपालिकाको यालबाङस्थित महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा कोरोना संक्रमण फैलिएको पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था बन्द गरिएका छन्। सुरुमा चार जनाको परीक्षण गर्दा तीन जनाको पोजेटिभ रिपोर्ट आएको थियो। लगत्तै स्वाब परीक्षण गर्दा विद्यालयको छात्रावासमा बस्ने ३२ विद्यार्थीमा मंगलबार कोरोना पुष्टि भएको थियो।
बिहीबारसम्म विद्यालयमा कोरोना पोजेटिभ देखिएकाहरुको संख्या ५६ पुगेको छ।
गाउँपालिका अध्यक्ष विष्णु लामाका अनुसार छात्रावासमा रहेका करिब एक सय विद्यार्थीको स्वाब परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएका अन्य विद्यार्थीलाई घर पठाइएको छ भने संक्रमितलाई छात्रावासकै आइसोलेसनमा राखिएको छ।
‘अहिलेसम्म कसैलाई पनि गाह्रो हुने गरी लक्षण देखिएको छैन,’ उनले भने, ‘कोरोना देखिएकालाई तातोपानी र अन्य तागतिलो खाना खुवाएर राखिरहेका छौं ।’ संक्रमित छात्रछात्रा १२ देखि १८ वर्षसम्मका छन् ।
जिल्लाको एकमात्र आवासीय विद्यालय महाबौद्धमा चालु शैक्षिक सत्रमा ३ सय ४ विद्यार्थी भर्ना भएका थिए। यालबाङबाहिरका गाउँ र अन्य स्थानीय तहका विद्यार्थीसमेत महाबौद्धमा अध्ययनका लागि जाने गर्छन् ।
करिब दुई महिनाअघि महाबौद्धले बाहिरबाट आएका विद्यार्थी र शिक्षकको पिसीआर परीक्षण गरी पठनपाठन सुरु गरेको थियो । कक्षाकोठामा मास्क अनिवार्य गरिएको थियो । तर, अहिले छात्रावासमै कोरोना संक्रमण देखिएपछि पठनपाठन बन्द गर्नुपरेको छ।
‘ उच्च सावधानी अपनाएर पढाइ सुरु गरेका थियौं, तर संक्रमण भित्रिएपछि गाह्रो भयो,’ अध्यक्ष लामाले भने अब केही समय विद्यालय बन्द गरेर संक्रमण नियन्त्रणमा ल्याउने प्रयासमा गाउँपालिका लागेको छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।