काठमाडौं–स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्। यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ।
शब्दकोशमा चारवटै भाषाका गरी चार लाख शब्दको अर्थ समावेश गरिएको छ। शब्दकोष एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी उपयोग गर्न सकिन्छ। यसैगरी वेबसाइटमा केएन स्वामी डटकममा गएपछि चार भाषाका करिब चार लाख शब्द खोज्न सकिने शब्दकोश निर्माणकर्ता स्वामी केशवानन्दले जानकारी दिए। यी चार भाषाका शब्द ‘फूल टेक्स्ट’ खोज्न यो एप र वेबसाइट उपयोगी हुनेछ । एउटा शब्दको चारै भाषाका अर्थ थाहा पाउन सकिनेछ ।
शब्दकोशमा संस्कृतबाट नेपालीका एक लाख, संस्कृतबाट संस्कृतका डेढ लाख, संस्कृतबाट हिन्दी ५० हजार र संस्कृतबाट अंग्रेजीका ५० हजार गरी चार लाख शब्द सामावेश गरिएको छ। धातु र त्यसको कृदन्त रूप ५० हजार गरी चार लाख शब्दको ज्ञान कोशबाट वेबसाइट वा एपमा गएर हेर्न सकिने गरी समावेश गरिएको उनले बताए। कोरोना भाइरसको सङ्क्रमणबाट बँच्न गत वर्ष चैतमा सरकारले लकडाउन गरेपछि स्वामी केशवानन्द गिरिको नेतृत्वमा शब्दकोश निर्माणका लागि काम सुरु भएको हो ।
संस्कृत शब्दको अर्थ जान्न चाहने, संस्कृतका विद्यार्थी, अध्ययन एवं अनुसन्धान गर्न चाहनेका लागि शब्दकोश उपयोगी छ। शिलालेख, प्राचीन अभिलेख लगायतका सामग्रीको अध्ययनका लागि पनि यो शब्दकोश महत्वपूर्ण सामग्री हुनेछ । संस्कृतका दुई शब्दकोश ‘वाचस्पत्यम्’ र ‘शब्दकल्पद्रुम’ का सबै शब्द टाइप गरेर विद्युतीय माध्यमबाट हेर्न सकिने बनाइएको छ । ‘वाचस्पत्यम्’ सन् १८७० मा तारानाथ तर्क वाचस्पति भट्टाचार्यले तयार पारेको कोश हो। यसैगरी ‘शब्दकल्पद्रुम’ सन् १८५९ मा राजा राधाकान्तदेवले तयार पारेको कोश हो । दुवै कोशका सबै शब्द विद्युतीय माध्यममा राखिएको छ।
यसैगरी वामन शिवराम आप्टेको सन् १९६६ मा प्रकाशित संस्कृत–हिन्दी र सन् १८९० मा प्रकाशित संस्कृत–अङ्ग्रेजी कोशका समेत सबै शब्द विद्युतीय माध्यममा राखिएको छ। नेपाल संस्कृत विश्वविद्यालयले प्रकाशन गरेको बृहत् नेपाली–संस्कृत शब्दकोश, कुलचन्द्र गौतमको संस्कृत–नेपाली कोश, संस्कृत–कन्नड कोश, मुनियर निलिम्सको संस्कृत–अङ्ग्रेजी कोश पनि टाइप गरेर विद्युतीय माध्यममा समावेश गरिएको छ । यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोशका पनि सबै शब्द अब एण्ड्रोइड एप र वेबसाइटमा एकसाथ राखिएको छ ।
धातुको व्युत्पत्ति भने केशवानन्दले आफैँ अनुवाद गरेर राखेका हुन्। नेपाली कोशमा व्युत्पत्ति र धातुको अर्थ थपेर समावेश गरिएको छ। यसैगरी धातुमा उपसर्ग लगाउँदाको अर्थ समेत विद्युतीय माध्यमबाट खोजी गर्न सक्ने गरी समावेश गरिएको छ । धातुको रूप भने केही समयमा राख्ने सोचमा उनी छन्। यी सबै विषय समावेश गरिएको एकीकृत कोश विश्वमै पहिलो भएको उनको भनाइ छ । यस वर्ष विजयादशमीको अवसरमा यो विद्युतीय कोश शुभारम्भ गरिएको हो।
कोशको मोबाइल एप हालसम्म तीन हजार जनाले डाउनलोड गरिसकेका छन् । डाउनलोड गर्नेबाट आएको प्रतिक्रिया सकारात्मक रहेको जनाइएको छ। एण्ड्रोइड फोनका फाइभ भर्जनभन्दा माथिका मोबाइलमा यो कोश खुल्ने गरेको छ । मोबाइल एप १२६ एमबीको भएकाले एक जिबी डाटा आवश्यक पर्नेछ । कोश एप र वेबसाइटमा उपलब्ध भएपछि यसका प्रयोगकर्ता ठूला ठूला शब्दकोश बोकेर हिँड्नुपर्ने, पल्टाउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । प्रयोगकर्ताका माझ यो सजिलो शब्दकोशका रूपमा आएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।